सरुवाका लागि अनलाइन निवेदन संघका कर्मचारीले मात्रै दिन पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरुवाका लागि अनलाइन निवेदन संघका कर्मचारीले मात्रै दिन पाउने


प्रशासन सिंहदरवार ब्युरो

२७ श्रावण २०७७, मंगलबार


समायोजन

काठमाडौँ । सरुवाका लागि अनलाइन निवेदन संघमा समायोजन भएका कर्मचारीले मात्रै दिन पाउने छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार प्रकाशित गरेको आफ्नो सूचनालाई प्रस्ट्याउँदै संघमा समायोजन भई मन्त्रालयबाट विभिन्न स्थानीय तहमा सरुवा, पदस्थापन तथा कामकाज गर्न खटाइएका कर्मचारीको हकमा मात्र लागू हुने स्पष्ट पारेको हो ।

सरुवा निवेदन सम्बन्धमा द्विविधा उत्पन्न भएको बुझिएको हुँदा उक्त सूचना संघमा समायोजन भई यस मन्त्रालयबाट विभिन्न स्थानीय तहमा सरुवा, पदस्थापन र कामकाज गर्न खटाइएको कर्मचारीहरूको हकमा मात्र लागू हुने ब्यहोरा जानकारी गराइन्छ, मन्त्रालयले भनेको छ, २०७५/०७६ को विज्ञापनमार्फत लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस हुनुभएका कर्मचारी र कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको हकमा यो सूचना लागू नहुने ब्यहोरा समेत स्पष्ट जानकारी गराइन्छ ।

मन्त्रालयले सरुवा माग गर्ने सम्पूर्ण कर्मचारीहरूले दिने निवेदन अनलाइन माध्यमबाट मात्र प्राप्त गरी कार्य अघि बढाइने भनेको थियो । उक्त सूचनामा स्थानीय तथा प्रदेशमा समायोजन भई गएका कर्मचारी र लोक सेवाबाट स्थानीयका लागि भर्ना भएका कर्मचारीको हकमा स्पष्ट नपारिएकाले उनीहरूको विषयमा के हुन्छ भन्ने विषयमा द्विविधा उत्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस