सङ्घीयता र माटो व्यवस्थापनका चुनौती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्घीयता र माटो व्यवस्थापनका चुनौती


२१ श्रावण २०७७, बुधबार


विक्रम संवत् २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको छ। देशको शासन व्यवस्था सफल र प्रगतिशील बनाउनका लागि स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनको ठुलो भूमिका रहेको हुन्छ। देश सङ्घीयतामा गइसकेको परिप्रेक्ष्यमा कर्मचारी वृत्तमा ठुलो हलचल उत्पन्न भएको छ। एकात्मक राज्य व्यवस्थाका अङ्गहरूमा कार्यरत कर्मचारीहरू एकाएक सङ्घीय संयन्त्रमा खटिइ सेवा प्रवाह गर्न रूपान्तरित हुनु चानेचुने कुरा भने होइन।

कर्मचारी समायोजन ऐन, २०७५ आफैमा विभेदकारी, विवादास्पद र अवैज्ञानिक भन्ने आवाजहरू आइरहँदा समग्र कर्मचारीहरूको मनोबल उच्च राख्न र समानताका आधारभूत सिद्धान्तहरू पनि लागु गर्न नसक्दा यो ऐन विवादमा आउनु कुनै नौलो कुरा भने होइन।

कुनै पनि देश विकासका आधारशिला र प्रगतिशील विचारधारा भएका कर्मचारीहरूको रूपमा प्राविधिक कर्मचारीहरूलाई लिइने गरिन्छ। हाम्रो जस्तो कृषि प्रधान देश नेपालमा तिनै कृषिका प्राविधिकहरू जो करिब पाँच दशक अघिदेखि अनवरत रूपमा कृषकहरूको खेतबारीमा गई सेवा प्रवाह गरिरहेका थिए, उनीहरूको खुट्टामा बन्चरी हान्ने काम कर्मचारी समायोजन ऐन, २०७५ ले गरेको भान हुन्छ।

देश एकात्मक राज्य व्यवस्थामा हुँदा नै विकेन्द्रित प्रणालीमा सेवा प्रवाह गरिरहेका कृषि प्राविधिकहरू सङ्घीयता पछि झन् खुम्चिनु पर्ने स्थिति सृजना भएको देखिन्छ। कृषि सेवा विशुद्ध प्राविधिक विषय हो जसमा धेरै विशिष्टीकृत समूहहरू छन्। तिनै समूहमध्ये एउटा उपेक्षित समूह पनि छ त्यो हो माटो विज्ञान समूह। माटो विज्ञान प्राविधिक विषयहरू भित्रको सूक्ष्म प्राविधिक विषय पनि हो।

कृषि क्षेत्रको मार्गदर्शनको रूपमा रहेको २० बर्षे कृषि विकास रणनीतिले पनि माटोको मुटु प्राङ्गारिक पदार्थलाई ई. स. २०१५ देखी २०३५ सम्ममा १ प्रतिशत बाट ४ प्रतिशत पुर्‍याउने महत्वकाक्षी लक्ष्य लिएको छ। त्यसै गरी कृषि क्षेत्रसँग सम्बन्धित सबै नीति नियमहरूले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रीकरण र ‍औधोगिकरणका विषयमा विशेष जोड दिएको पाइन्छ।

पन्ध्रौँ योजनाले पनि कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक क्षमता विकास गरी व्यापार सन्तुलन गर्ने उद्देश्य लिएको छ। त्यसै गरी बजेट भाषण २०७७/७८ मा प्रत्येक पालिकाहरूमा घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण गरी माटो स्वच्छता प्रमाणपत्र वितरण गर्ने भन्ने कुरा उल्लेख गरिएको छ। नेपालको माटोको उर्वराशक्ति दिनानुदिन खस्किँदै गइरहेको भन्ने कुरामा कुनै दुई मत नहोला। अर्कोतर्फ देश प्राङ्गारिक उत्पादनमा जानु पर्दछ भन्ने आवाजहरू पनि चर्को रूपमा आइरहेका छन्।

देशको माटोको समग्र अवस्था हेर्दा जो सुकै नेपालीको मन दुख्छ।साबिकको माटो व्यवस्थापन निर्देशनालयको तथ्याङ्क अनुसार नेपालको ‍औषत ६०-६५% माटोमा अम्लीयपनाको समस्या छ। माटोको मुटुको रूपमा रहेको प्राङ्गारिक पदार्थको मात्रा औसतमा २% भन्दा कम छ, जुन स्वस्थ माटोमा ५% हुनु पर्दछ। नाइट्रोजन, फस्फोरस र पोटासियम जस्ता मुख्य तत्त्वहरू नेपालका आधाआधी माटोहरूमा कम छन्।

त्यसै गरी सूक्ष्म तत्त्वहरू जिङ्क, बोरन, कपर, मोलिब्डेनम आदी तत्त्वहरूको कमीका लक्षणहरू बाली बिरुवामा दिनानुदिन बढ्दै गइरहेका छन्। समग्र देशको माटो व्यवस्थापनमा अग्र पङ्क्तिमा रहेर काम गर्ने माटो विज्ञान समूहका प्राविधिकहरूको सङ्ख्या औलामा गन्न मिल्ने अवस्थामा छ। सरसरती हेर्दा देश भरिमा माटो विज्ञान समूहमा रा. प. प्रथम १ जना, रा. प. द्वितीय ९ जना, रा. प. तृतीय  २० जना र सहायक प्राविधिक कर्मचारीहरू २५-३० जना मात्र त्यो पनि कर्मचारी समायोजन पछि तिनै तहहरूमा छरिएर खटिइरहनु भएको छ। यसमा पनि झन्डै एक चौथाई दरवन्दीहरु रिक्त छन् भने अन्य समूहहरूको तुलनामा यो सङ्ख्या ज्यादै न्यून हो। प्रश्न उब्जन्छ, के यो जनसंक्तीले समग्र देशको माटो व्यवस्थापन गर्न सम्भव छ ? सबै स्थानीय तहहरूमा घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण गरी माटो स्वच्छता प्रमाणपत्र वितरण गर्न सम्भव छ ? कदापि सम्भव छैन, तथापि माटो समूहका प्राविधिकहरू अहोरात्र सेवामा खटिरहनु भएको देख्न सकिन्छ।

माटो समूहका प्राविधिकहरूलाई हेर्ने दृष्टिकोण प्रयोगशालामा रहेर माटो परीक्षण गर्ने मात्र हो भन्ने जस्तो देखिन्छ। वास्तवमा समस्या त्यहीबाट सुरु हुन्छ। जसरी हामीले प्रयोगशालामा विभिन्न टेस्टहरू गराउँछौ, रिपोर्ट आएपछि डाक्टरको सल्लाह अनुसार उपचार सुरु गरिन्छ, त्यसैगरी माटो परीक्षण प्रयोगशालाहरूले माटो परीक्षणको रिपोर्ट दिएपछि माटो व्यवस्थापनमा माटो विज्ञान समूहका प्राविधिकहरूको मुख्य भूमिका रहनु पर्दछ। हाल नेपालमा कृषि क्षेत्रको सङ्गठन संरचना हेर्दा त्यस्तो अवस्था देखिँदैन। माटो समूहका सम्पूर्ण दरबन्दीहरू प्रयोगशालाहरू मात्रै केन्द्रित गरेर राखेको पाइन्छ।

नेपालको माटोको उर्वराशक्ति ह्रासको भयावह स्थिति सुधार गर्नका लागि माटो समूहका प्राविधिकहरूको औचित्य सबैले मनन गर्न अत्यावश्यक छ। कृषि क्षेत्रका सबै निकायहरूमा चाहे त्यो सङ्घमा होस्, चाहे प्रदेश, चाहे स्थानीय तहहरूमा होस् विशिष्टीकृत समूहको रूपमा माटो विज्ञान समूहका प्राविधिकहरूको औचित्य सार्थक छ र ती सबै निकायहरूमा माटो विज्ञान समूहका दक्ष प्राविधिकहरूको सेवा विस्तार गर्न सकेमा मात्र देशमा खाद्य र पोषण सुरक्षा सहितको दिगो, प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्रको परिकल्पना पुरा हुनेछ।

देशका कृषि नीतिहरूले प्राङ्गारिक उत्पादनमा जोड दिने भनिरहँदा माटो व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको छ। प्राङ्गारिक उत्पादनमा प्रयोग हुने सम्पूर्ण श्रोतहरू प्राङ्गारिक हुनुपर्दछ। नेपाल जस्तो खाद्य असुरक्षित देश सम्पूर्ण रूपमा सबै बालीवस्तुहरुको उत्पादनमा प्राङ्गारिकमा जाँदा के त्यो उत्पादनले नेपालीहरूको खाद्य सुरक्षा सुनिश्चित गर्न सक्दछ ? के प्राङ्गारिक श्रोतहरू र उत्पादनको आपूर्ति माग अनुसार स्थिर रूपमा गर्न सकिन्छ ? के प्राङ्गारिक उत्पादनहरू नेपालीहरूको आयस्तरले निरन्तर उपभोग गर्न सक्छन् ? भन्ने जस्ता प्रश्नहरू चुनौतीको रूपमा उब्जिन्छन्।

माटो विज्ञानको दृष्टिकोणले हेर्दा नेपालको माटोमा मुख्य खाद्यतत्वहरुको साथै सूक्ष्म खाद्यतत्वहरुको समेत कमी भइरहेको अवस्थामा प्राङ्गारिक स्रोतहरूबाट मात्रै माटोमा सबै खाद्यतत्वहरु पूरा गर्न खोज्दा अत्यधिक मात्रामा प्राङ्गारिक मलहरूको प्रयोग गर्नुपर्ने हुन्छ। जसको कारण उत्पादन लागत अधिक हुन गई निम्न आय भएका नेपालीहरूले उपभोग गर्न नसक्ने पनि हुन सक्दछ। अर्को कुरा, व्यावसायिक रूपमा ठुलो क्षेत्रमा प्राङ्गारिक उत्पादनमा जानका लागि प्राङ्गारिक स्रोतहरूको अभाव पनि हुन सक्दछ र बाली बिरुवा लाई आवश्यक खाद्यतत्वहरुको मात्रा पुर्‍याउन सकिएन भने बालीको उत्पादन र उत्पादकत्वमा कमी आउँछ।

तत्कालका लागी कुनै ठाउँ विशेष अनुसारका तुलनात्मक लाभका बालीहरू का साथै उच्च मूल्य र कम आयतनका बालीहरूमा प्राङ्गारिक उत्पादनमा जान सम्भव देखिन्छ। त्यस कारण देशको कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि माटोमा रासायनिक र प्राङ्गारिक मलहरूको समुचित र सन्तुलित प्रयोग गर्न सकेमा माटोको उर्वराशक्ति बिग्रने होइन सुधार हुँदै जान्छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस