लोक सेवा तयारीका लागि वस्तुगत तथा विषगत प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा तयारीका लागि वस्तुगत तथा विषगत प्रश्नोत्तर


प्रशासन संवाददाता

२९ माघ २०७६, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ?
– विक्रम संवत् २०७६ माघ २६ 

२. एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुन् ?
– चन्द्रप्रसाद ढकाल 
(एसियाली व्यवस्थापन सङ्घको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन सङ्घ (म्यान) द्वारा ढकाललाई सो अवार्डबाट सम्मानित गरिएको ।)

३. सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ?
– आर्थिक वर्ष २०६८/०६९ 
– सरकारले आव २०६८/६९ मा विभिन्न १७ वटा, आव २०७०/७१ मा चार वटा र २०७५/७६ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको । सोपश्चात् तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित २०७६ माघसम्ममा २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषित भएका ।
– कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका आयोजनामध्ये २२ आयोजनाको कुल लागत नै तीन खर्ब बढेर १६ खर्बबाट १९ खर्ब २७ अर्ब ६६ करोड पुग्ने देखिएको ।

४. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ?
– मार्च ३ 
(विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको ।)

५. महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन् ?
– डा. रमेशचन्द्र अधिकारी 

६. अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
स्वीट्जरल्यान्ड 
– सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः नर्वे, आइसल्यान्ड, जापान र डेनमार्क रहेका ।
– घरभाडा दर, किराना सामान, रेस्टुरेन्टमा खानपानको मूल्य, कपडा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्यलगायतका कुरा समेटी तयार पारिएको सो सूचीमा सवैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको । पाकिस्तानपछि सस्तो बजार भाउ भएका देशमा अफगानिस्तान, भारत, सिरिया र उज्वेकिस्तान रहेका ।
– नेपाल सबैभन्दा महँगो देशको सूचीमा २९.०५ अङ्कका साथ १२२औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११औँ स्थानमा परेको ।
– १३२ देशका राजधानीमा आधारित भई प्रतिवेदन तयार पारिएको ।

७. हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?
– ८९ प्रतिशत
(खानेपानी मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदनअनुसार सन् २०१० सम्म ८१ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेको जनाइएको । मन्त्रालयका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशतलाई उपलब्ध भएको ।)

८. पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरेको हो ?
– विसं २०७६ माघ २६ 
– कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको सुरुवात गर्न लागिएको । अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानव हितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्न सक्छ रोग, नमस्कार गरे हुन्छ मनको मनको योग’
– विविधप्रकारका सरुवा रोग समेतबाट जोगिन अङ्कमाल र हात मिलाउनेभन्दा अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानवहितकारी रहेको कोषले जनाएको ।
– विशेषगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणप्रति सजगताका लागि नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको ।

९. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
– विसं २०५३ 

१०. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?
– कुशल मल्ल 
(कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रेकर्ड कायम गर्नुभएको । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरेका ।)

११. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
– धारा २४४ 
(संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने । साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख ।)

१२. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
 – गोपालप्रसाद रिमाल 

१३. गुणस्तरीय पर्यटक    भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
–  भुटान 

१४. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
– १६ वर्ष 

१५. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
– धारा ३४ 

१६. ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
–  विसं २०७३ असार २७ 

१७. मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
– पतिले सम्बन्धविच्छेद गर्न सक्ने 
(मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरेको ।)

१८. विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरेको हो ?
– सन् २०२० जनवरी २८ 
– सन् २०२० फेब्रुअरी मध्यसम्म कोरोना भाइरस २६ मुलुकमा देखिएको ।
– नोभेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट सन् २०२० फेब्रुअरी १० सम्ममा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको ।

१९. सार्सको पूरा रूप के हो ?
– सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम 
– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको  ।

२०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
– वाणिज्यमन्त्री वा राज्यमन्त्री  

२१. निजी गैरनाफामूलक संस्था पपुलेसन रेफ्रेन्स व्युरो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ?
– नौ अर्ब ९० करोड 
(उक्त प्रतिवेदनअनुसार सो अवधिसम्म विश्व जनसङ्ख्या ३३ प्रतिशतले बढ्ने र सन् २०५३ सम्म १० अर्ब पुग्ने देखिएको छ । सो अवधिमा एसियाको जनसङ्ख्या ९० करोडले बढेर ५४ अर्ब ३० करोड पुग्ने अनुमान छ । युरोपमा जन्मदरमा कमी आएका कारण त्यहाँको जनसङ्ख्या घट्नेछ भने अफ्रिकाको दोब्बर हुने उल्लेख छ । सो अवधिसम्म २९ वटा राष्ट्रको जनसङ्ख्या दोब्बरभन्दा बढी हुनेछ । त्यस्तै ४२ वटा राष्ट्रमा भने कमी आउने तथ्याङ्कले देखाएको छ ।)

२२. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ?
– लोकसेवा आयोग 

२३. मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
 – राष्ट्रिय मानवअधिकार आयोग 

२४. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
– गजुर 

२५. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?
– मन्त्रिपरिषद् 

२६. निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?
– १८० दिन 

२७. महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
– सार्वजनिक लेखा समिति 
(विश्वभरका विद्यावारिधि शोधकर्ताबीच प्रतिस्पर्धा भएको ।)

२८. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
– रूस 

२९. ‘प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ’ भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
-वातावणरण संरक्षण ऐन–२०५३ 

३०. ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ?
– दक्षिणा कोरियाली फिल्म ‘प्यारासाइट’ ।
अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सद्वारा प्रदान गरिने उक्त अवार्ड पहिलोपटक विदेशी भाषाको चलचित्रले प्राप्त गरेको । यस फिल्मले विदेशी भाषाको फिल्म र पटकथासमेत गरी चार अवार्ड हात पारेको । ओस्कारमा विदेशी भाषाको फिल्मले फिचर फिल्मको अवार्ड जितेको यो पहिलोपटक हो ।


यो पनि पढ्नुहोस्, लोक सेवा विशेष : वस्तुगत तथा विषयगत प्रश्नोत्तर


विषयगत प्रश्नोत्तर

१. कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामहरू के–के हुन् ? सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
– कार्यालयको लक्ष्य एवम् उद्देश्य प्राप्तिका लागि गरिने सबै कार्यहरू कार्यालय सञ्चालन र व्यवस्थापन हुन् । यसमा कार्यालयको योजना तर्जुमा गर्नेदेखि योजना कार्यान्वयन गर्ने, कर्मचारी तथा बजेट व्यवस्था गर्ने, समन्वय गर्ने, निर्देशन गर्ने, अनुगमन गर्ने, मूल्याङ्कन गर्नेलगायतका कार्यहरू पर्दछन् । यी कार्यहरूलाई व्यवस्थित गर्न केही विभिन्न पक्षहरूको आवश्यकता पर्दछ, जसलाई कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामको रूपमा लिन सकिन्छ । जुन निम्न छन्
क. मितव्ययिता : कम लागत तथा तोकिएको समयमा गुणस्तरीय कार्यसम्पादन गर्ने गरी व्यवस्थापनले कार्य गर्नुपर्दछ ।
ख. कार्यदक्षता : उपलब्ध साधन–स्रोतको अधिकतम परिचालन गरेर लक्ष्य हासिल गर्नुपर्दछ ।
ग. प्रभावकारिता : लक्ष्यअनुसारको प्रगति हासिल गरेर आफ्नो प्रभावकारिता अभिवृद्धि गर्नुपर्दछ ।
घ. पारदर्शिता : व्यवस्थापनले आफ्ना कार्यहरू तथा निर्णयहरू सरोकारवालालाई जानकारी गराउनुपर्छ ।
ङ. जवाफदेहिता : व्यवस्थापनले आफूले गरेका प्रत्येक कार्यहरूको सम्बन्धमा उठेका सवालहरूको उत्तर दिनुपर्दछ ।
च. सदाचार एवम् नैतिकता : व्यवस्थापनले गरेका कार्यहरूमात्र नभई, व्यवस्थापकको बानी–व्यहोरा एवम् चरित्र स्वच्छ हुनुपर्दछ । सेवाग्राहीमैत्री व्यवहार हुनुपर्दछ ।

सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन
कार्यालयमा इन्टरनेट, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरणहरूको प्रयोग गरेर कार्यालयले गर्ने सम्पूर्ण कार्यलाई यही माध्यमबाट गरी कार्यालयलाई पूर्ण रूपमा पेपरलेस अफिस बनाउनु सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन हो । सूचना प्रविधिको उपयोगिताको क्षेत्र बहुआयामिक हुनाले कार्यालयको कार्यप्रकृति एवम् कार्यक्षेत्रका आधारमा यसलाई प्रयोग गर्न सकिन्छ । यसले मानिस, मालबस्तु, जग्गा, भवन, सवारीसाधनलगायतका सबैको सूचनालाई इनपुट, प्रोसेस र आउटपुटको कार्य गरी व्यवस्थित गर्दछ । यसलाई यस्तैगरी प्रयोग गरेर कार्यालयलाई सूचना प्रविधिमैत्री कार्यालयका रूपमा व्यवस्थापन गर्न सकिन्छ । देहायका उपायहरू अवलम्बन गरेर कार्यालयलाई सूचना प्रविधिमैत्री कार्यालयका रूपमा व्यवस्थापन गर्न सकिन्छ :
– कार्यालयको वेबसाइट निर्माण गरेर,
– विद्युत् आपूर्तिको नियमित व्यवस्था गरेर,
– कम्प्युटर प्रणालीको पूर्ण प्रयोग गरी सेवा प्रवाह गरेर,
– सीसीटीभीको प्रयोग गरेर,
– टेलिफोन, फ्याक्स, स्क्यानर, मोबाइल, रेडियो, टेलिभिजनलगायतका विद्युतीय औजारको प्रयोग गरेर,
– इन्टरनेटमार्फत अनलाइन सेवा प्रदान गरेर,
– फेसबुक, ट्वीटर, स्काइप, भाइबर, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालको प्रयोग गरेर,
– सूचना प्रविधिमैत्री दक्ष कर्मचारीको व्यवस्था गरेर,
– सूचना प्रविधिको पूर्ण सुरक्षा तथा गोपनीयताको सुनिश्चितता गरेर,
– अहिलेको युग सूचना प्रविधिको हो । यसलाई व्यक्तिको व्यक्तिगत जीवनदेखि घरपरिवार, कार्यालय, समाज, राष्ट्र हुँदै सम्पूर्ण विश्वमा प्रयोग गर्न सकिने भएकाले आज सूचनाको सञ्जाल यसरी विस्तार र विकास भएको पाइन्छ । त्यसैले कार्यालयमा उल्लिखित उपायबाट यसको पूर्ण प्रयोग गरेर काममा गुणस्तर, छिटोछरितो एवम् अनु्शासन कायम गर्दै कार्यालयलाई आधुनिक बनाउन सकिन्छ ।

२. नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् ।
– आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो । आर्थिक वृद्धिदर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ । नेपालको संविधानको धारा ५१ (घ) (१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । विकास सहायता नीति–२०७१ ले निजी क्षेत्रलाई विकासको एक प्रमुख साझेदार स्वीकार गरेको अवस्था छ । चालु योजनामा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रस्ट गरिएको छ र पनि नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सन्तोषजनक भएको पाइँदैन । अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नीति, लगानीको प्रतिकूल वातावरण, सरकार र लगानीकर्ताबीच अविश्वास, कानुनी जटिलता, ऊर्जा सङ्कट आदि जस्ता कारणले नेपालमा निजी क्षेत्र फस्टाउन सकेन, जसले गर्दा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी हुन सकेन । समग्रमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निम्नानुसार रह्यो :
– वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेन,
– रोजगारी सृजना गर्ने कार्य प्रभावकारी भएन,
– निजी क्षेत्रवीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुन सकेन,
– मूल्यवृद्धि नियन्त्रण गर्ने कार्य कमजोर भयो,
– निर्यात वृद्धि हुन सकेन, आयात बढेर व्यापार घाटा उच्च रह्यो,
– मुलुकमा नयाँ–नयाँ प्रविधि भित्र्याउन सकिएको छैन,
– विदेशी मुद्रा आर्जन गर्ने कार्य प्रभावकारी भएको छैन,
– उपरोक्त अवस्था देखिए पनि शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटनजस्ता क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रभावकारी भएको पाइन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी नीतिगत स्थिरतामार्फत लगानीको वातावरण तयार गरेर नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका थप
बढाउनुपर्ने देखिन्छ ।

३. सङ्गठनमा चिठीपत्रको दर्ता र चलानी किन आवश्यक हुन्छ ? खुलाउनुहोस् ।
– सङ्गठनमा आएका चिठीपत्रहरू प्राप्त हुनासाथ सुरुको अभिलेख राख्ने कार्य दर्ता हो भने सङ्गठनबाट बाहिर जाने चिठीपत्रहरूको अन्तिम अभिलेख राख्ने कार्य चलानी हो । कार्यालयमा दर्तामार्फत चिठीपत्र भित्रिन्छ भने चलानीमार्फत चिठीपत्र बाहिरिन्छ । दर्ताबाट कार्यालयमा कामको प्रारम्भ हुन्छ भने चलानीबाट कामको दायित्व अरूमा सार्ने गरिन्छ । सङ्गठनमा चिठीपत्रको दर्ता र चलानीको आवश्यकता निम्नअनुसार हुने गर्दछ ः
– कार्यालयमा प्राप्त भएका चिठीपत्रको प्रारम्भिक अभिलेख राख्न,
– कुन पत्र कहिले कहाँबाट प्राप्त भयो र प्राप्त पत्रको कारबाही के–कस्तो भएको छ । सोबारे जानकारी प्राप्त गर्न,
– कार्यालयमा प्राप्त पत्रको सुरक्षा गर्न,
– कार्यालयमा प्राप्त पत्र हराउने सम्भावना कम हुने, यदि पत्र हराएमा दर्ता किताबबाट जानकारी प्राप्त गर्न सकिने, जस्तै : पत्रको दर्ता नम्बर, पत्रको मिति, पत्र सङ्ख्या, पत्रको विषय आदिबाट पत्रको खोजी गर्न सकिने,
– कार्यालयबाट कसलाई के विषयमा कहिले पत्र पठाइयो सोको विवरण चलानीबाट लिन सकिने,
– पत्र पाउने कार्यालयले पत्र बुझेको भर्पाइँ चलानीमा हुने, आवश्यक पर्दा उक्त भर्पाइँ प्रमाण हुन सक्ने,
– चलानी पत्र हराएमा पुनः अर्को पत्र तयार गर्न सरल हुने ।

४. पारदर्शिता सुशासनको आधारस्तम्भ हो । उदाहरणसहित उल्लेख गर्नुहोस् ।
– राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवम् सार्थक सहभागिता गराई शासन व्यवस्थालाई जनमुखी बनाउने कार्य सुशासन हो । पारदर्शिताले राज्य संयन्त्रका हरेक कामकारबाही, साधन–स्रोत एवम् अवसरमा सरोकारवाला सबै जनताको सहज पहँुच बढाउँछ । यसबाट सरकारका आर्थिक एवम् प्रशासनिक निर्णयहरू जनअपेक्षाअनुरूप हुन पुग्दछन् । भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्दछ । सरकारी निकाय जनताप्रति जिम्मेवार र जवाफदेही हुन्छन् । निर्णय प्रक्रियामा सहभागिता बढ्छ । स्रोत–साधन अवसरको न्यायोचित वितरण हुन्छ । सरकारले विगतमा के गरेको छ, वर्तमानमा के गरिरहेको छ र अब भविष्यमा के गर्दै छ भन्ने कुराको सम्पूर्ण जानकारी जनताले नियमित प्राप्त गर्दछन् र सरकारप्रति विश्वस्त हुन्छन् । जनताको निगरानी र बढ्दो चासोले सरकारी काम–कारबाही विधिपूर्वक सम्पन्न हुन पुग्दछ । सेवाग्राही एवम् उपभोक्ताका अधिकारहरू स्थापित हुँदै जान्छन् । यसबाट समग्र शासन प्रणाली सुदृढ र जनमुखी हुन पुग्दछ । जस्तै : कार्यालयमा नागरिक बडापत्रको अनिवार्य व्यवस्थाले सेवा प्रवाहमा छिटोछरितो ल्याउन सहयोग गरेको छ । सूचना अधिकारीको व्यवस्थाले सार्वजनिक सरोकारका विषयमा सहज पहँुच बढाउन मद्दत गरेको छ । कार्यालयको आय, व्यय, आर्थिक कारोबारलगायतका निर्णयहरू सार्वजनिक गर्नुपर्ने व्यवस्थाले भ्रष्टाचार नियन्त्रणमा केही सहयोग गरेको छ । त्यसैले पारदर्शितालाई सुशासनको आधारस्तम्भ हो भन्न सकिन्छ ।

५. जलवायु परिवर्तनको असर कम गर्न चाल्नुपर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।
– जलवायु परिवर्तन कार्बनडाइअक्साइडलगायतका ग्यास उत्सर्जनबाट हुन्छ, त्यसैले उद्योग, कलकारखाना, यातायात तथा मानवीय क्रियाकलापहरूबाट हुने यस्ता ग्यास उत्सर्जनलाई न्यून गर्नुपर्दछ । जलवायु परिवर्तनको असर कम गर्न अरू निम्न उपायहरू चाल्नुपर्दछ :
– गरिबी र अन्य कारणबाट हुने वनविनाशलाई रोक्ने,
– मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउने,
– वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने,
– प्रदूषण मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने,
– वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूको कार्यान्वयन गर्ने,
– हरित अर्थतन्त्रको अवधारणा अवलम्बन गर्ने,
– न्यून कार्बन उत्सर्जन विकास रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने,
– वातावरण संरक्षणसम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने,
– फोहोरमैलाको उचित व्यवस्थापन गर्ने,
– व्यवस्थित सहरीकरण तथा उचित बसोवासको व्यवस्था गर्ने,
– वातावरणीय अनुगमन, निरीक्षण र प्रतिवेदन कार्यलाई प्रभावकारी बनाई वातावरणीय सुशासन कायम गर्ने, यस कार्यका लागि वातावरण विभागलाई थप क्रियाशील बनाउने ।

 

गोरखापत्र 

 

Tags :
प्रतिक्रिया दिनुहोस