प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान, एक घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान, एक घाइते


१५ माघ २०७६, बुधबार


रौतहट । प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान हुँदा आपराधिक समूहका एक व्यक्ति गोली लागेर घाइते भएका छन् । रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो ।

घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार, आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । उनका हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

चाँद तराई मधेस नेसनल नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको भूमिगत समूहमा आबद्ध रहेको खुलेको छ । चाँदले भारतीय नागरिक मोमताज, नेपाली नागरिक ओमप्रकाश साहसहित तीन जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि भारतबाट नेपाल प्रवेश गरेको स्वीकारेका छन् । चाँद सँगैका अन्य २ भारततर्फ भागेका छन् ।

प्रहरीले घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, १ थान खाली खोका र कटुवामा लोड भएको १ थान गोली बरामद गरेको छ ।

प्रहरीको गोली लागी घाइते चाँद फरार अभियुक्त रहेका प्रहरीले बताएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा संगठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी ३ र संगठित अपराध र आपराधिक लाभ १ वटा गरी छुट्टाछुट्टै ४ मुद्दा दर्ता भएको जनाइएको छ । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस