लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ : बडू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ : बडू


२२ कार्तिक २०७६, शुक्रबार


डडेल्धुरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले हालै भारतले सार्वजनिक गरको राजनीतिक नयाँ नक्सामा नेपालको भू–भाग मिचेको कुरामा सरकारले कूटनीतिक तवरबाट चाँडो समाधान निकाल्नुपर्ने बताएका छन् ।

नेपालको सिमाना दार्चुला जिल्लामा पर्ने कालापानी र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्साभित्र राखी नेपालको सिमाना अतिक्रमण गरेको भन्दै नेता बडूले पार्टी र व्यक्तिगत तर्फबाट आपत्तिसमेत जनाए । नक्सा परिवर्तन गराउन सरकारले कूटनीतिक पहल गरी चाँडै समाधान निकाल्नुपर्ने जनाउँदै नेता बडूले भने,’नेपाली कांग्रेस राष्ट्र र सीमा बचाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने छ ।’

डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीलाई भेट्न आइपुगेका नेता बडूले भने, ‘राष्ट्र नै खतरामा परेको बेला सरकार किन अग्रसर भइरहेको छैन र यो विषयमा जोडदारले किन अवाज उठाइरहेको छैन ? सरकारप्रति शङ्का उब्जिरहेको छ ।’

नेता बडूले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालनको सिमाना मिचिएको अवस्था आपत्तिजनक विषय भएको भन्दै सरकार तथा सबै पार्टीले यो विषयमा आपत्ति जनाई राष्ट्रियता नै सङ्कटमा परेको बेला एक ठाउँमा उभिएर साथ दिई राजनीतिक तवरबाट समाधान गरिनु पर्ने बताए ।

सिमाना मिचिएको भाग दार्चुलाको मात्रै नभई राष्ट्रिय अखण्डतालाई नै आँच पुग्ने कार्य छिमेकी राष्ट्रबाट भएकाले यसमा सरकारको आधिकारिक धारणा प्रस्तुत हुनु पर्नेमा नेता बडूले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस