अफगानिस्तानमा विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानमा विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते


१३ कार्तिक २०७६, बुधबार


काबुल । अफगानिस्तानमा भएको पछिल्ला हिंसात्मक घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरू २२ जना सर्वसाधारण नागरिक घाइते भएका छन् ।

अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यो विवरण पछिल्लो २४ घण्टामा भएको विस्फोटनका घटनाको हो । कान्दहर प्रान्तअन्तर्गत पर्ने स्पीन बोल्डक जिल्लामा एउटा मोटरसाइकलमा विस्फोट गराइएको थियो ।

विस्फोटनको सो घटना बुधबार मध्याह्नको समयमा भएको प्रान्तीय प्रहरीका प्रवक्ता जमाल बारिक्जाईले जानकारी दिए । सरकारविरोधी लडाकूहरुले एउटा मोटरसाइकलमा विस्फोटक पदार्थ जडान गराएको उनले दाबी गरे ।

स्थानीय समयअनुसार दिउँसो १.११ बजे एउटा होटलको अगाडि विस्फोटन भएको स्थानीय बासिन्दाले बताएका छन् । विस्फोटनमा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी जावज्जान प्रान्तको मड्र्यान जिल्लामा मङ्गलबार राति अर्को कार बम विस्फोटन भएको थियो । विस्फोटनमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १० जना लडाकू रहेका छन् ।

घटनामा परी १२ जना घाइते भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल वाहिद वाज्डानले बुधबार जानकारी दिए । समाचारमा दिइएको जानकारीअनुसार दक्षिणी जाबुल प्रान्तको मिजान जिल्लामा पनि अर्को विस्फोटनको घटना भएको छ ।

मङ्गलबार राति भएको सो घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस