राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा. चन्द्रकुमार राई छन् ।

यसैगरी उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी छन् । कार्यक्रममा ती पत्रिकाका सम्पादक डा.राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए । सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे । उनले भने, ‘मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ । कर्म गर्न छाड्न हुँदैन ।’

राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएकोमा धन्यवाद दिए । शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे । नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उनले बताए । प्रतिष्ठानका अध्यक्ष प्रा डा.वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस