टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो


४ कार्तिक २०७६, सोमबार


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।

यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु ४ हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु २ हजार ५०० मात्र कायम गरिएको कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी पहिले ११ देखि १०० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु चार हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस रु दुई हजार ३०० मा र ५१ देखि १०० एमबीपिएस रेन्जको प्रति एमबीपिएस मात्र रु २ हजार १०० मा उपलब्ध गराइनेछ ।

पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।

मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने संघ/संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस