डोटीका खोप पीडितले आठ वर्षपछि पाए राहत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीका खोप पीडितले आठ वर्षपछि पाए राहत


२६ भाद्र २०७६, बिहिबार


डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ (साबिकको काडामाडौं गाविस) मा २०६९ सालमा खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले ८ वर्षपछि राहत पाएका छन् ।

खोपमा असावधानिका कारण चार बालबालिकाको मृत्यु भएको थियो । खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले ०७५ असार १४ गते खोप लगाएपश्चात् मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति स्वरूप जनही १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई आदेश गरेको थियो । अदालतको आदेश पश्चात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदन भण्डारी फाउण्डेसनका अध्यक्ष लक्ष्मण मलासीसँग ४ जनाको १० लाखका दरले ४० लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको थियो । प्राप्त रकम बैँक खाता मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताए ।

उनले भने ‘स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासनलाई पठाएको थियो, हामीले पीडित परिवारलाई हस्तान्तरण गरेका छौँ’ । ०६९ सालमा दादुरा खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु बिकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको अन्जुका बुवा हरिभक्त बिकले बताए । ‘हामीले धेरै पटक सबैसँग आग्रह गर्‍यौँ तर पाउन सकेका थिएनौँ’ सर्वोच्च अदालतको फैसलापछि पनि लामो समय लाग्यो’ विकले भने ।

सर्वोच्चको फैलसापछि पनि छिटो काम गर्नका लागि धेरै पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाउनु परेको मदन भण्डारी फाउण्डेसन डोटीका अध्यक्ष लक्ष्मण मलासीले बताए । ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा ढिलाइ भयो, पीडित परिवारसहित हामीले धेरै पटक धाउनुपर्‍योे’ मलासीले भने । पीडित परिवारले न्यायका लागि पटक–पटक आवाज उठाए पनि क्षतिपूर्तिको व्यवस्था हुन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस