४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै


२४ बैशाख २०७६, मंगलबार


भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ ।

शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण थालिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज भट्टले तीन वटै विद्यालयमा गरी रु ४८ लाखका दुई/दुईकोठे भवन निर्माण भइरहेको जानकारी दिए । शाखा प्रमुख भट्टले नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालय भवन चालू आवभित्र सक्ने गरी काम भइरहेको बताए ।

त्यसैगरी बागफाँटामा रहेको पञ्चकृत बैजनाथ माविको दुईकोठे भवन निर्माणको सोमबार नगरपालिकाका नगरप्रमुख सरेन्द्र विष्टले शिलान्यास गरेका छन् । नगरपालिकाभित्र चालू आवमा तीन विद्यालय छनोट गरी त्यहाँ कम्प्युटर सामग्री वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

कम्प्युटर, ल्यापटपलगायतका सामग्री खरीदका लागि पञ्चकृत बैजानथ मावि, महेश्वर मावि र बैजनाथसिद्धनाथ माविलाई साढे छ लाखका दरले रकम विनियोजन गरिएको छ । भट्टका अनुसार नगरपालिकाका चार सामुदायिक स्कूलमा यस वर्ष पुस्तकालयसमेत निर्माण भइरहेका छन् । सत्यवादी मावि वनगाउँ, सरस्वती मावि उल्टाखाम, जनसेवा मावि हल्दुखाल र त्रिभुवन मावि तिलाचौरमा पुस्तकालय बनाउने काम भइरहेको भट्टको भनाइ छ ।

“शैक्षिक सुधार र सामुदायिक विद्यालयको स्तर बढाउन नगरपालिकाको बजेटबाट पनि धेरै पहल भएका छन्”, शिक्षा शाखा प्रमुख भट्टले भने, “स्थानीयस्तरमा पनि वडा कार्यालयहरू बजेट नै विनियोजन गरेर शिक्षा क्षेत्रको विकासमा लागेका छन् ।”

त्यसैगरी यहाँको भृकुटी मावि, लक्ष्मी मावि र बैजनाथ माविमा विज्ञान प्रयोगशाला बनिरहेका छन् । जसका लागि प्रतिविज्ञान प्रयोगशाला रु साढे छ लाख नै रकम आएको छ । नगरपालिकाको आफ्नो बजेट विशेष शिक्षा कक्षा चलेका विद्यालयमा छात्राबास व्यवस्थापनका लागि पनि रकम खर्चेको छ । नगरपालिकामा ५५ सामुदायिक वन र ७० निजी विद्यालय सञ्चालनमा छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस