काठमाडौं । कैलाली क्षेत्र नंबर १ बाट निर्वाचित रेशम चौधरीले सपथ लिएका छन् ।
सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। उनले थारु भाषामा सपथ लिएका हुन् । उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिएका थिए ।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो।
टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो। चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए।







