यस्ता छन् शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय


१२ पुस २०७५, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले विभिन्न देशका राजदूत फिर्ता बोलाउने, नयाँ पठाउनेदेखि विद्युतीय बस किन्नेसम्मका निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट भएका निर्णयहरू हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने व्यवस्थाअनुसार आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त्ता गोकुल बास्कोटाले बताएका १३ निर्णय यस्ता छन् ।
हेर्नुहोस् निर्णय
२०७५ साल पुस ६ गते शुक्रबार र पुस ९ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू–
१. नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता (Reciprocity) सम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ । नयाँ व्यवस्थाअनुसार पर्यटक भिसा लिँदा बुझाउनुपर्ने दस्तुरमा देहाय बमोजिमको परिवर्तन गरिएको छ–
क) सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे (१८० दिन प्रतिवर्ष) बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्नेछ । हाल अमेरिकी नागरिकले अमेरिकी डलर १६० र नेपाली नगारिकले अमेरिकी डलर १०० दस्तुर तिर्ने व्यवस्था छ ।
ख) नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क अमेरिकी डलर २०० हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ ।
२. चन्द्रगढी विमानस्थलको विस्तार तथा स्तरोन्नतीका लागि थप जग्गा प्राप्त गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
३. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) (पहिलो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
४. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
५. वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८१ बमोजिम निम्न अधिकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरूलाई प्रत्यायोजन गर्न र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ–
क) वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने ।
ख) विज्ञापन गरे/नगरेको नियमित अनुगमन गरी सत्यतथ्य बुझ्ने ।
ग) तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने ।
घ) वैदेशिक रोजगारका लागि व्यक्तिगत रूपमा विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको निर्णय प्राप्त भएअनुसार वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने ।
ङ) इजाजतपत्रवालाका शाखा कार्यालयहरूको अनुगमन तथा निरिक्षण गर्ने ।
च) वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ का निश्चित दफा र नियममा उल्लेख भएका व्यवस्थाहरूको पालना भए/नभएको अनुगमन गर्ने ।
६. नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको छ ।
७. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको ‘सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अवधारणापत्र’ स्वीकृत गरिएको छ ।
८. विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा निम्नअनुसार नियुक्तिका लागि सिफारिस गरिएको छ–
क) परराष्ट्र मन्त्रालयका सहसचिव श्री गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूत ।
साथै उहाँलाई UN Economic and Social Commission for Asia and the Pacific (UNESCAP) / Asian Institute of Technology (AIT)का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।
ख) परराष्ट्र मन्त्रालयका सहसचिव श्री मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवम् स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदुत । साथै उहाँलाई World Trade Organization (WTO) / World Health Organization (WHO)का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।
ग) परराष्ट्र मन्त्रालयका सहसचिव श्री भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूत । साथै उहाँलाई International Civil Aviation Organization (ICAO) का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।
घ) परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल श्री दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत । साथै उहाँलाई United Nations Educational, Scientific and Cultural Organization (UNESCO) का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।
ङ) परराष्ट्र मन्त्रालयका सहसचिव श्री दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूत । साथै उहाँलाई Asian Cooperation Dialogue (ACD) का लागि स्थायी प्रतिनिधि तोकिएको छ । उपर्युक्त मुलुकहरूमा हाल कार्यरत राजदूतहरूलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति प्राप्त नभएसम्म सो मुलुकको राजदूतका रूपमा कामकाज गरिरहन स्वीकृति दिइएको छ ।
दक्षिण कोरिया, स्पेन अधिराज्य र बंग्लादेशमा कार्यरत राजदूतहरू क्रमशः महामहिम श्री अर्जुन जंगबहादुर सिंह, महामहिम श्री भरतबहादुर रायमाझी र महामहिम श्री प्रा.डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरिएको छ ।
९. जोखिमयुक्त वस्ती स्थान्तरण तथा एकीकृत वस्ती विकास सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
१०. जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
११. झापा जिल्ला माहरानीझोडा, लखनपुर, सतासीधाम, शिवगंज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ जारी गरिएको छ ।
१२. सुरक्षित नागरिक आवास कार्यन्वयन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ । १३. समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ का केही हेरफेर गरिएको छ ।
गोकुल प्रसाद बाँस्कोटा
प्रवक्ता नेपाल सरकार

Tags :
प्रतिक्रिया दिनुहोस