शहीदको सपना पूरा गर्छौँ : अध्यक्ष दाहाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहीदको सपना पूरा गर्छौँ : अध्यक्ष दाहाल


२७ मंसिर २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताए ।

थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए ।

नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उनले उल्लेख गरे ।

नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उनको भनाइ थियो । आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उनले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए ।

थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गरेको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु गरिएको उपलक्ष्यमा आज विमोचन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस