बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते


२० मंसिर २०७५, बिहिबार


गौशाला । बसले ठक्कर दिँदा जलेश्वर नगरपालिका–३ मलिवारामा एक जनाको मृत्यु भएको छ । गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु भएको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले बताएको छ ।

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनासम्म चल्ने बीआर०६पीसी ९२५१ नंको बसले गए राति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज६प १६५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस