करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक


१४ कार्तिक २०७५, बुधबार


काठमाडौं । गृह मन्त्रालयले करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालय अन्तर्गतका करार सेवामा कार्यरत ८३ (तत्कालिन शान्ति मन्त्रालयसमेत गरी) कर्मचारीलाई हटाउँदै बुधबारदेखि सिंहदरवारभित्र प्रवेशमा रोक लगाएको हो । यसरी सेवाबाट हटाइनेमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ४१ कर्मचारी पनि छन् ।

गृह मन्त्रालयअन्तर्गत प्रशासन शाखामा कार्यरत उपसचिव ज्ञाननाथ ढकालका अनुसार तत्कालीन शान्ति मन्त्रालयका कम्प्युटर अपरेटर ६, सहायक कम्प्युटर अपरेटर ३, रिसेप्सनिस्ट १, हलुका सवारी चालक ७ र कार्यालय सहयोगी २६ छन् । यस्तै, गृह मन्त्रालय अन्तर्गतका कम्प्युटर टेक्निसियन १, कम्प्युटर अपरेटर ४, सहायक कम्प्युटर अपरेटर ३ र कार्यालय सहयोगी (झाडु बडारसहित) ३४ छन् ।

गृहले करार सेवामा कार्यरत तत्कालीन शान्ति मन्त्रालयका ४ र गृहका १२ कर्मचारीको भने दरबन्दी मिलान गरेको छ । जसमध्ये कम्प्युटर अपरेटर १०, हलुका सवारी चालक ४ र कार्यालय सहयोगी २ छन् ।

गृहले हटाइएका कर्मचारीको नाम लिस्ट सिंहदरवार सुरक्षामा खटिइएका प्रहरी अधिकारीलाई दिएर उनीहरूले सिंहदरवार प्रवेशमा रोक लगाएको हो ।

गृहका सूचना अधिकारी एकदेव अधिकारीले दरबन्दी नभएकाले करार सेवामा कार्यरत कर्मचारीको नविकरण नगरिएको जानकारी दिए । ‘ती कर्मचारीहरूलाई तीन महिनाको थप तलब सुविधा उपलब्ध गराउँछौं,’ उनले भने ।

अन्य मन्त्रालयका करार सेवाका कर्मचारीले आफूहरूले पुनस्र्थापित गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन् ।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले करार सेवाका कर्मचारीको असोज मसान्तसम्म म्याद थपी तीन महिनाको सुविधा दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो । गृह मन्त्रालयअन्तर्गत दरबन्दी खाली भए मिलान गर्ने निर्णय पनि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस