काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका काम कारबाहीका विषयमा परेका उजुरीहरूको अनुसन्धान कार्यलाई फास्ट ट्रयाकमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ ।
आयोगद्वारा मङ्गलवार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका काम कारबाहीका विषयमा परेका उजुरीहरूको फर्छ्यौट गर्न आयोगले फास्ट ट्रयाकको माध्यमबाट सम्बन्धित ठाउँमा प्राविधिक सहितको टोली खटाइ अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।
यसै सन्दर्भमा बढी उजुरी परेका पहाडी जिल्लाहरूमध्ये कास्की र पर्वतमा उजुरीहरूलाई स्थलगत अनुगमन गरी अनुसन्धान तथा छानबिन गर्न स्थलगत टोली खटाइएको अख्तियारले जनाएको छ ।
यसरी टोलीले सङ्कलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवम् छानबिन गरी शीघ्र टुङ्गोमा पुर्याइने अख्तियारले जनाएको छ । अन्य जिल्लामा पनि यस किसिमको अनुसन्धान प्रक्रियालाई निरन्तरता दिइने बताइएको छ ।
आयोगले भ्रष्टाचार र अनियमितता सम्बन्धी उजुरी परेका निकायको अनुसन्धानलाई तीव्रता दिएको आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।