मन्त्रालयको प्रगति विवरण अब अनलाइनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रालयको प्रगति विवरण अब अनलाइनमा


२६ भाद्र २०७५, मंगलबार


कार्ययोजना

काठमाडौँ । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनाअनुशारको प्रगति विवरण अनलाइन सिस्टममा राख्ने तयारी थालिएको छ ।

अधिकांश विकासका कामहरू आर्थिक वर्षको अन्त्यमा मात्रै हुने गरेको गुनासोपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्त्रालयका सचिवहरूसँग मागेका ‘समयमा कार्यान्वयन गर्ने योजना’ अनुसार हरेक मन्त्रालयबाट प्राप्त प्रगति विवरणलाई व्यवस्थित तथा प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली सुरु गर्न थालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार असोजदेखि हरेक मन्त्रालयका कार्ययोजनाको प्रगति विवरण अनलाइनमा देख्न सकिनेछ ।

उनले भने, ‘सफ्टवेयर तयार भइसकेको छ र हरेक मन्त्रालयबाट प्राप्त प्रगति विवरण (हार्डकपी) सफ्टवेयरमा राख्ने कार्य भइरहेको छ ।’

यसले कार्ययोजनाको प्रगति विवरण मूल्याङ्कन गर्न सहज हुने उनको भनाइ छ ।

प्रवक्ता कुँवरका अनुसार कार्ययोजनाको मूल्याङ्कन कामको आधारमा तीन अवस्थाबाट गरिनेछ । उनले शत प्रतिशत, ५० प्रतिशतभन्दा माथि र ५० प्रतिशतभन्दा मुनि गरी तीन अवस्थाबाट मन्त्रालयलाई छुट्ट्याइने बताए ।

उनका अनुसार पहिलो चरणमा हरेक मन्त्रालयबाट प्राप्त प्रगति विवरण पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राखिने र सिस्टममा आईसकेपछि मन्त्रालयले नै कार्ययोजनाको प्रगति विवरण अपलोड गर्नुपर्नेछ । त्यसका लागि हरेक मन्त्रालयलाई छुट्टाछुट्टै पासवर्ड दिइने उनले बताए । प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाका कार्यप्रगतिको विवरण राखिसक्नुपर्नेछ ।

‘यसले कार्य योजना अनुसार काम भएको छ/छैन भन्ने कुराको नियमन गर्न त सहज हुने छ नै, अनलाइन सिस्टममै देखिने मूल्याङ्कनका आधारमा सुधार गर्नुपर्ने पक्षमा समेत तत्काल एक्सनमा जान सहज हुनेछ,’ प्रवक्ता कुँवरले भने ।

तालिका नै बनाएर काम गर्दा समयमैसम्पन्न हुन गई सुशासनमा टेवा पुग्नुका साथै कार्यशैलीमा समेत परिवर्तन हुने र सेवा प्रवाहमा आउने गरेको गुनासो हट्न गई विकास निर्माणले समेत गति लिने विश्वास लिइएको छ ।

सार्वजनिक सेवा प्रवाह प्रविधि मैत्री बनाइँदै
सार्वजनिक सेवा प्रवाह प्रविधि मैत्री बनाउन मन्त्रिपरिषद्को कार्यालय पहल गरिरहेको प्रवक्ता कुँवरले बताए । हरेक निकायमा यसको सुरुवात भइसकेकाले केही समयमै नतिजा देखिने उनको दाबी छ । ‘सेवाग्राहीको सबैभन्दा चाप रहने निकायहरूलाई प्रविधिसँग जोडिने क्रम तिव्रत्तर रूपमा अगाडि बढाइरहेको र क्रमशः सबै सरकारी निकायलाई जोडेर सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने तयारी गरिरहेको छौँ,’ उनले भने । मालपोत, यातायात व्यवस्था र वैदेशिक रोजगार कार्यालयहरू प्रविधिसँग जोडिइसकेका छन् ।

यो वर्षभित्र प्रविधिसँग जोडिएका निकायहरूबाट प्रवाह हुने सेवाको मापन तथ्याङ्कमा नै प्रस्तुत गर्न सक्ने तथा सेवाग्राहीलाई नै महसुस हुने गरी कामको थालनी गरिरहेको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस