बलत्कार न्यूनीकरणको तत्काल योजना बनाउन गृहमन्त्रीले दिए आईजिपीलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलत्कार न्यूनीकरणको तत्काल योजना बनाउन गृहमन्त्रीले दिए आईजिपीलाई निर्देशन


१४ भाद्र २०७५, बिहिबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलत्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए ।

बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावक देखि बालबालिकासम्म सबैलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहको ठहर छ ।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कँहीकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरता पूवर्क कारवाही अघि बढाउन समेत उनले प्रहरीलाई निर्देशन दिए ।

गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

अभियान सुरु गर्दै गृह

अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।

गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भए लगत्तै भदो मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।

इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस