ट्राफिक प्रहरीलाई लज्जाबोध नगराऊ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ट्राफिक प्रहरीलाई लज्जाबोध नगराऊ


२० श्रावण २०७५, आइतबार


ट्राफिक प्रहरी

ट्राफिक प्रहरीको काम हो– ट्राफिक व्यवस्थापन गर्नु । यसका लागि उसले ट्राफिक नियम मिच्नेलाई जो कोहीलाई कारवाही गर्न पाउने कानुनी व्यवस्था छ । तर, व्यवहारमा ठीक उल्टो छ । उनीहरू नियम मिच्नेलाई कारवाही त परै जाओस्, उल्टै दोषीको हप्की सहन बाध्य छन् । अझ अरुको गल्तीमा ‘दोषी’झैं बनेर माफी माग्न बाध्य छन् । यति मात्र होइन, इमान्दारपूर्वक ड्युटीमा खटिँदा पनि ‘जागिर खाइदिने’ धम्की सहन बाध्य छन् ।

झट्ट सुन्दा लाग्छ– यो कुनै कथाको अंश हो । तर, यो कथाको अंश होइन, मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरवारभित्र ड्युटीमा खटिएका ट्राफिक प्रहरीले दिनहुँ भोग्दै आएको यथार्थ हो ।

त्यसो त सिंहदरवारमा ट्राफिक नियम उल्लंघनका थुप्रै घटना सार्वजनिक भएका छन् । यी घटनाबारे अध्ययन गर्दा लाग्छ– यहाँ कानुनी होइन, सैतानी राज छ । यहाँ दिनदहाडै कानुनको ‘बलात्कार’ भइरहेको छ, त्यो पनि नियम/कानुन बनाउनेहरूबाटै ।

सिंहदरवारभित्र खटिएका ट्राफिक प्रहरीले भोग्नुपरेको सास्तीलाई नियाल्ने हो भने सरकारले यहाँ ट्राफिक प्रहरीका लागि नयाँ ‘तालिम’को आविस्कार गरिएको छ, जसमा ‘ठूलाबडा’ शासकहरूले नयाँ–नयाँ तरिकाबाट दैनिक कार्यस्थलमा व्यावहारिकरूपमै प्रशिक्षण गराउँछन् । यसैको नतिजा हो– बर्दीमा उभिँदा गर्वले छाति फुलाएर शीर ठाडो पार्नुपर्ने प्रहरी निन्याउरो मुख लगाएर लज्जित हुँदै कुनामा उभिनु ।

बिहान १० बजे सिंहदरवारको ड्युटीमा खटिँदादेखि नै सवारी चालकदेखि कर्मचारी, नेता, कार्यकर्ताहरूको खप्की खानु र साँझ घर फर्कदा लज्जित हुँदै शीर निहुयाएर बाहिरिनु उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

आखिर किन र कहिलेसम्म प्रहरीलाई लज्जित बनाइरहने हो ? ठूलाबडा र तिनका आसेपासेले गर्ने गल्तीको सजाय उल्टै कानुन कार्यान्वयन गर्ने निकाय अर्थात् प्रहरी अधिकारीले भोग्नुपर्ने ?

गल्ती गर्नेले लज्जित हुनुपर्नेमा उल्टै गल्ती नगर भन्ने नै लज्जित हुनुपर्ने कस्तो व्यवस्था हो ? ड्युटीमा खटिएको प्रहरी अधिकारी चाहे जवान नै किन नहोस्, ऊ व्यक्ति नभई कानुन कार्यान्वयन गराउने राज्यको प्रतिनिधि हो । उसले गर्ने/गराउने कुरा राज्यले अह्राएको मानिन्छ, जुन जो कोहीले पनि पालना गर्नुपर्छ ।

तर, यहाँ त नेता, मन्त्री मात्रै होइन, स्थायी सरकार पनि भनिने कर्मचारीका हाकिमहरूले पनि नियमको बेवास्ता गरेको देखिन्छ । तर, यसमा उनीहरू सवारी चालकको दोष देखाउँदै पन्छिने गरेका छन् । सवारी चालकको दोष देखाएर पन्छिने छुट उनीहरूलाई छ ? अवश्य पनि छैन । यसमा सवारी चढ्ने व्यक्तिको पनि उत्तिकै दोष हुन्छ, जति सवारी चालकको छ ।

प्रशासन डटकमले पटकपटक खबरदारी गर्दा पनि ट्राफिक नियम मिच्ने क्रम अझै रोकिएको छैन । पार्किङका लागि पर्याप्त ठाउँ भए पनि सडक पेटीमै गाडी पार्किङ गरिन्छन् । कार्यालयको आँगन ढपक्क ढाक्ने र भित्र पस्न पनि कठिन हुने गरी भद्रगोल ढंगले जता मन लाग्यो उतै गाडी पार्किङ गरिएको देखिन्छ । लाग्छ– गाडी प्रदर्शनमा राखिएको हो । यो शासकीय मानसिकताकै उपज हो ।

सिंहदरवारभित्रको ट्राफिक व्यवस्थापनका लागि महिनौंदेखि प्रयास गरिएको भनिए पनि सामान्य सुधारबाहेक अवस्था उस्तै छ । यसलाई प्रशासकको दादागिरी भन्ने कि प्रहरी नेतृत्वको लाचारी ?

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गर्न निर्देशन दिएको बताउँछन् । तर, यति हुँदा पनि दोषीलाई कारवाही गर्न सकिएको छैन । यसले निर्देशनहरू निर्देशनकै लागि मात्र दिइन्छन् भन्ने प्रमाणित हुन्छ ।

सिंहदरवारभित्रै लोकलाज हराउने दृश्य कहिलेसम्म देख्नुपर्ने हो ? कम्तिमा सिंहदरवारभित्रै त कानुनी राज्यको महसुस होस् । सिंहदरवारको चौखालभित्र पसेका जवानहरूले भलै आवाज निकाल्न नसकुन्, तर नामर्दकी कुन्नी के भन्दा मर्दको कुन्नी के भनेजस्तै हरेक दिन शीर निहु¥याउने काम नगरियोस् ।

कि त सिंहदरवारभित्र खटाइएका ट्राफिक प्रहरीलाई हटाइयोस् वा कानुनको उल्लंघन गर्नेलाई कारवाही गर्नसक्ने अधिकार दिइयोस् र अन दि स्पर्ट गल्ती गर्नेलाई कारवाही होस् । ‘जो चोर उसैको ठूलो स्वर’को अन्त्य होस् ।

यसबारे जिम्मेवार निकायका पदाधिकारीहरूले समयमै सोचुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रहरी संगठन र अनुगमनको पनि अनुगमनकारी निकाय प्रधानमन्त्री कार्यालयको दृष्टि पुगोस् । जागिरको अर्थ ‘गिरेरै बस्नुपर्ने’ भन्ने कदापि होइन । सबैलाई चेतना भया ।

Tags :
प्रतिक्रिया दिनुहोस