राज्यबाट उपचारका लागि पर्याप्त सहयोग पाइनँ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राज्यबाट उपचारका लागि पर्याप्त सहयोग पाइनँ


८ मंसिर २०७४, शुक्रबार


झण्डै सात वर्षअघि बझाङमा फैलिएको महामारीमा उपचारमा संलग्न अनमी विष्ना जोशी आफै  ‘अनौठो रोग’बाट संक्रमित भइन । त्यतिबेलादेखि रोगबाट ग्रसित जोशी अहिले पनि उपचाररत छिन् । उनी पाँच वर्षयता टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन् । लामो समयदेखि रोगबाट पीडित जोशीसँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी

आफै स्वास्थ्यकर्मी, कसरी यो जटिल रोगबाट ग्रसित हुन पुग्नु भयो ?
बझाङको बुगल स्वास्थ्य चौंकीमा कार्यरत रहँदा झाडापखालाको महामारी फैलियो । महामारी जिल्लाभर फैलिएपछि मेरो जिल्लाकै अर्काे क्षेत्रमा सरुवा भयो । महामारी नियन्त्रण गर्न हाम्रो टिम अहोरात्र खटेको थियो । हामी दिनमा मात्र होइन, राति पनि सल्लाको झोरो बालेर खट्थ्यौं । दिनरात नभनी उपचारमा खटिएँ । अन्ततः त्यही महामारीको आफै सिकार भए ।

सुरुमा मलाई यति धेरै डाइरिया र वान्ता भयो कि मेरो हेमोग्लोविन नै चार पुग्यो । म बेहोस ढलेपछि जिल्ला अस्पतालमा उपचार गर्न लगियो । तर, सम्भव भएन ।

स्वास्थ्यकर्मी हुँदा पनि रोगै पत्तालगायत यति धेरै अस्पताल चहार्नुपर्ने र अन्तिममा महँगो उपचार गराइराख्नुभएको छ, निकै सास्ती भोग्नुभयो है ?
हो, रोगै पत्ता लगाउन धेरै अस्पताल धाउनुपर्यो । सुरुमा मलाई कञ्चनपुरको महाकाली अञ्चल अस्पताल पुर्याइयो । त्यहाँबाट भारतको लखनऊ रेफर गरियो । त्यहाँ उपचार खर्च निकै महँगो भएकाले काठमाडौंको वीर अस्पताल लगियो । त्यहाँ लगातार दुई वर्ष उपचार भयो । उपचारका क्रममा धेरै मेडिसिन चलाउँदा मेरो इम्युनिटी पावर नै कमजोर भएको रहेछ । म त्यहाँ रिकभर हुन सकिनँ । यस दौरान काठमाडौंका प्रायः सबै अस्पतालमा मेरो उपचार भयो ।

अन्ततः त्यसपछि मेडिकल बोर्डको सिफारिसमा ‘रिसर्चियबल केस’ भनी दिल्ली रेफर गरियो । उपचार गर्न घरजग्गा बेच्नुपर्ने अवस्था आयो ।

मेरो रोगबारे अन्नपूर्ण न्यूरो हस्पिटलका डाक्टर बसन्त पन्तले ‘४६ वर्षीय मेडिकल करियरको फस्ट केस’ भनेका थिए । दिल्लीको एम्स हस्पिटलमा ६ महिना भर्ना भएर बसे । त्यतिबेलासम्म मलाइ मेडिसिन दिइएन ।

उपचारमा खटिएका चिकित्सक कहिले धुलो त कहिले घाँसमा हिँडाउथे । रोग पत्ता लगाउन धेरै इन्भेटिगेसन गरे । अन्त्यमा इम्युनिटी सिस्टम कमजोर यो अवस्था भएको निष्कर्ष आयो, जसलाई मेडिकलको भाषामा ‘हाइपो कम्प्लिमेन्टिक आर्टिकेरियल भास्कुलाइटिस्’ भन्ने गरिँदो रहेछ । त्यसपछि मेरो उपचार सुरु गरियो र अन्ततः उनीहरू सफल भए ।

रिसर्च गरेर लामो प्रक्रियाबाट उपचार खोज्नुपर्ने भएकोले खर्च पनि धेरै लागेको हो ?
हो, निकै महँगो छ । दैनिक तीन-चार पटक आठ-दश औषधी खानुपर्छ । ६ महिनामा इन्जेक्सन लगाउन दिल्ली जानुपर्छ । एउटाको तीन लाख ६० हजार भारु पर्छ । यसका साथै प्रत्येक महिना फलो अप पनि गर्नुपर्छ । यसका लागि मेरो आर्थिक अवस्थाले भ्याउँदैन ।

सरकारको एक कर्मचारी नागरिककै उपचारका क्रममा आफै संक्रमित हुँदा पनि राज्यले उपचार खर्च दिएन र ?
दुई पटक गरी १० लाख रूपैयाँ पाएको थिएँ । तर, त्यो पर्याप्त भएन । मेरो आम्दानीले उपचार खर्च धान्न सक्ने अवस्था थिएन । यसले मलाई डिप्रेसन पनि भयो । अहिले पनि उपचार खर्चका लागि सरकारसँग हात जोडिरहेकी छु । तर, पाउन सकेको छैन ।

अहिले मेरो फाइल अर्थमन्त्रालयमा छ । त्यसमा सम्पूर्ण उपचार खर्च व्यहोर्नको लागि भनेर स्वास्थ्य मन्त्रालयले सहमति पठाएको छ ।

थप खर्च माग्न जानुभएन ?
गएको थिएँ तर, कर्मचारीको व्यवहारले मन दुख्यो । यति धेरै पैसा उपचार खर्च हुन्छ र ? भनी धेरैले प्रश्न गरे । कतिले त ‘एउटै कर्मचारीलाई धेरै पैसा दिएपछि सबै कर्मचारीको उपचार गर्दा देशको बजेटले धान्दैन’ सम्म भने ।

मेरो भनाइ के मात्र हो भने सबै कर्मचारीलाई महँगो सुई लगाउनुपर्दैन र उपचार गर्न दिल्ली पनि जानुपर्दैन । तर जो राज्यकै लाए अह्राएकै काममा खटिँदा बिरामी हुन्छ भने त्यो त राज्यको दायित्व पनि त हो नि । कुनै सामान्य नागरिक बिरामी पर्दा पनि एक अभिभावको नाताले राज्यले हेर्नु पर्छ भने म त कर्मचारी पनि हुँ त्यसैमाथि कामकै क्रममा यो अनौठो रोग लाग्यो, मैले भन्ने कसलाई ?

अहिलेसम्म उपचारमा कति खर्च भयो त ?
मेरो व्यक्तिगत खर्च ७०/८० लाखभन्दा बढी भयो । अरुले दिएको खर्च जोड्ने हो भने त एक करोड नै नाघ्यो होला ।

यति धेरै खर्च कसरी जुटाउनुभयो त ?
सहयोग गर्ने हातहरू हुँदा रहेछन् । कतिले मेरो मेडिसियनको लिस्ट हेर्थे र महिनासम्मको किनेर दिन्थे । कतिले डाइट चार्टमा सहयोग गर्थे त कसैले दिल्ली जाने टिकट मिलाई दिन्थे । कसैले इन्जेक्सनका लागि कम्पनीसँग कोडिनेसन गरिदिन्थे । त्यो हिसावले एक करोडभन्दा अझै बढी नाघ्यो होला ।

अकस्मात रोग बल्झिरहन्छ भन्नुभयो, कस्तो लक्षण देखापर्छ ?
एक किसिमको एलर्जी जस्तो आउँछ । त्यो चिलाउने होइन, दुख्छ । बिस्तारै मेरो जिउ सुन्निन्छ । सुन्निएपछि एकदमै रातो हुन्छ । त्यसपछि एकदम आगोले पोलेजस्तो हुन्छ । अनि त्यो फुट्छ । यदि घाँटीमा त्यो समस्या देखिए श्वासप्रश्वासमै समस्या देखिन्छ । त्यसपछि मलाई आइसियुमा भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ ।

आँखामा भयो भने आँखै बन्द हुन्छ । मुखभित्र एलर्जीको रिएक्सन भयो भने खाना खान पनि सकिँदैन । अहिले भाइबहिनीले मेरो स्याहार गरिरहेका छन् ।

अहिलेसम्म कतिपटक रोग बल्झियो होला ?
पाँच सयभन्दा बढी ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने यत्रो धेरै संघसंस्था छन्, उपचारमा कोही अग्रसर भएनन् ?
उपचार खर्चमा सहयोग गर्न विभिन्न संघसंस्थालाई डकुमेन्ट बुझाएँ । तर, कसैबाट पनि सहयोग पाइएन ।

आफै राम्ररी हिँड्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ, कतिबेला रोग बल्झिन्छ थाहा छैन । अहिले काम पनि गरिराख्नुभएको छ ?
काम गरिरहेको छु । प्यासेन्टसँग डिल गर्न सक्दिनँ । सामान्य पेपर वर्क गर्छु । यसअघि ड्युटीका क्रममा प्यासेन्टसँग ढलेपछि चिकित्सकको सल्लाहले नै पेपर वर्क गर्न थालेको हुँ । अहिले म डाइट काउन्सिलिङ गर्छु ।

सरकारसँग तपाईँको अपेक्षा के हो ?
मैले सरकारले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेकी छु । आफ्नै ज्यानको बाजी लगाएर दिनरात महामारीमा खटेँ । ठूलो मानवीय क्षति हुनबाट जोगियो । यतिबेला आफै जीवन मृत्युको संघारमा पुगेकी छु । राज्यले मेरो उपचार खर्चदेखि आवश्यक व्यवस्था गरिदिएमा म आफू पनि बाँच्ने थिएँ र अझै कैयौं नागरिकको सेवा गर्न सक्ने थिएँ । यही नै मेरो सरकारसँग अनुरोध हो ।


र यो पनि,

सात वर्षदेखि रोगसँग लड्दै अनमी

Tags :
प्रतिक्रिया दिनुहोस