सात वर्षदेखि रोगसँग लड्दै अनमी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात वर्षदेखि रोगसँग लड्दै अनमी


प्रशासन विशेष ब्युरो

२४ कार्तिक २०७४, शुक्रबार


काठमाडौं । सात वर्षअघि बझाङमा फैलिएको झाडापखालाको महामारी नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मी सात वर्षदेखि रोगसँग लडिरहेकी छिन् ।

२०६७ सालमा महामारी नियन्त्रणमा खटिएकी अनमी बिष्ना जोशी ‘अनौठो’ रोगबाट थलिइन् । त्यो रोग अहिलेसम्म सन्चो नभएको उनी बताउँछिन् ।

‘महामारी फैलिएका बेला दिनरात नभनी खटिएँ । दिनमा त छँदैछ, राति समेत बिरामी हेर्न जानुपथ्र्याे,’ उनले त्यो बेलाको घटना सुनाइन्, ‘बिरामीको उपचारकै क्रममा आफै रोगले थलिएँ ।’

२०६६ असारदेखि खिरातडी स्वास्थ्यचौकी बुङलमा कार्यरत विष्ना महामारीकै क्रममा जिल्लाकै अन्य क्षेत्रमा सरुवा भएकी थिइन । त्यही उनलाई रोग संक्रमण भएको थियो ।

सुरुमा मलाई यति धेरै झाडा र बान्ता भयो की हेमोग्लोबिन नै चार पुग्यो, उनले सुनाइन्, जसले गर्दा म बेहोस नै हुन्थे । कतिले त मलाई अब यो बाँच्दैन सम्म भन्थे । जिल्लामा उपचार गर्दा पनि रोग सन्चो भएन । त्यस पछि उनलाई महाकाली अञ्चल अस्पताल पुर्याइयो । तर, त्यहाँ पनि उनको उपचार हुन सकेन । त्यस पछि भारतको लखनउ हुँदै काठमाडौंको वीर अस्पताल सम्म पुर्याईयो ।

वीर अस्पतालमा लगातार दुई वर्ष उपचार गरेको उनी बताउँछिन् । तर, त्यहाँ पनि उनलाई सन्चो भएन । त्यस पछि काठमाण्डौका अन्य अस्पताल टिचिङ, काठमाण्डौ मोडेल हुदै पाटन र त्यहाँबाट पनि अन्नपूर्ण न्यूरो हस्पिटलमा लगियो । अन्ततः मेडिकल बोर्डको सिफारिसमा जटिल तथा कडा रोग भन्दै ‘रिसर्च केस’ भनि भारतको दिल्ली रेफर गरियो । दिल्ली उपचार गराउने क्रममा राज्यबाट केही सहयोग पाए पनि त्यो पर्याप्त नभएको उनले बताइन् ।

‘उपचार गर्न घर जग्गा बेच्दा पनि रोग सन्चो भएन,’ उनले दुखेसो पोखिन्, सरकारबाट पनि पर्याप्त सहयोग पाइएन । सरकारबाट उपचारका लागि दश लाख रूपैयाँ आर्थिक सहयोग पाए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

‘अन्नपूर्ण न्युरो हस्पिटलका वरिष्ठ न्युरोलोजिष्ट डा.वसन्त पन्तले ४६ वर्षीय मेडिकल लाईफमा पहिलोपटक यस्तो केस देखे भन्नुभएको थियो,’ उनले भनिन् ।

मेडिकल बोर्डको सिफारिसपछि दिल्लीको एक हस्पिटलमा ६ महिना भर्ना भएर उपचार गरेको उनी बताउँछिन् । उनका अनुसार रोग सन्चो नभएपछि चिकित्सकले रिर्सच गरे । ‘कहिले धुलो र घाँसमा हिँडाउथे त कहिले चिसो त र घाममा राख्थे,’ उनले उपचार गर्दाको क्षण सम्झिइन, ‘लगातारको इन्भेस्टिगेसनले मेरो रोग पत्ता लाग्यो । चिकित्सकले ‘हाइपो कम्प्लिमेन्टिक आर्टिकेरियल भास्कुलाइटिस’ भनेर ट्रिटमेन्ट गरे ।’ महामारीका बेला अत्याधिक झाडा र बान्ताका कारण खाना खान नसक्दा कुपोषण भएर रोगसँग लडने क्षमतामा कमजोर भएको चिकित्सकले बताए । चिकित्सकका अनुसार करोडमा एक जनालाई यो रोग देखिन्छ ।

उनका अनुसार उनको सुरुमा शरीरमा नचिलाउने तर दुख्ने एलर्जी आउँछ । त्यसपछि शरीर सुन्निएर रातो हुन्छ र दुई तिन दिन पछि फुटेर रगत बग्छ । घाँटीमा भए श्वासप्रश्वासमा समस्या हुन्छ भने खुट्टामा भए हिँड्न र मुखमा भए खाना खान सकिँदैन । अहिलेसम्म यस्तो पाँचसय भन्दा बढी पटक देखिएको उनी बताउँछिन् ।

रोग पत्ता लागे पनि उपचार खर्च महँगो छ, उनले दुखेसो सुनाइन्, आर्थिक अभावले नियमित उपचार गर्न सकिएको छैन । प्रत्येक ६÷६ महिनामा इन्जेक्सन लगाउनुपर्ने भए पनि रकम नहुँदा समस्या रहेको उनी बताउँछिन् । उनका अनुसार एक इन्जेक्सन लगाउन एक पटकमा तीन लाख ६० हजार भारू खर्च हुन्छ । प्रति महिना औषधीमा मात्रै ३० हजार खर्च हुने उनले बताइन् । सरकारी तलवले उपचार खर्च धान्न सकिएन, उनले भनिन्, उपचार खर्चका लागि अहिले फेरि सरकारसँग माग गरिरहेको छु ।

उपचार खर्चका लागि स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालय धाउँदा धाउँदा हैरान भएको छु, उनी दुखेसो पोख्छिन्, स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनको समितिमा पठाउँछ । सामान्य प्रशासनको समिति कहाँ गयो भने ऐन नियमले दिन मिल्दैन भन्छन ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले सपोर्ट गरेको उनी बताउँछिन् । उहाँले तत्कालीन स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई फोनबाटै नेपाल सरकारबाट सम्पुर्ण उपचार खर्च बेहोर्ने गरेर टिप्पणी पठाउँ भन्नुभएको थियो । अर्थ सचिवलाई पनि जटिल केस भन्दै सहयोग गर्न निर्देशन भएको थियो तर पनि सुनुवाइ भएन ।

एक दिन मेरो रोग सन्चो हुने विश्वासमा दिन बिताइरहेकी छु । उनी चार वर्षयता राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन् । हाल उनि कार्यालयमा सामान्य पेपर वर्क गर्छिन । अस्पतालको बिरामी वार्डमा डयुटी गर्न सक्दिनँ,’ उनी भन्छिन्, बिरामी वार्डमा डयुटीका क्रममा ढलेपछि चिकित्सकले नै सामान्य पेपरवर्क गर्ने सल्लाह बमोजिम पथ्या शाखामा काम गर्न थालेँ ।

Tags :
प्रतिक्रिया दिनुहोस