छिटोछरितो न्याय सम्पादन गर्न प्रधानन्यायाधीश पराजुलीको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छिटोछरितो न्याय सम्पादन गर्न प्रधानन्यायाधीश पराजुलीको आग्रह


६ कार्तिक २०७४, सोमबार


पाँचथर । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशले आफ्नो दायित्व पूरा गर्न छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने बताएका छन् ।

सदरमुकाम फिदिममा जिल्ला अदालतको भवनको आज शिलान्यास गर्दै उनले न्याय समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्तको संग्रह र पद्धति भएकाले समाजभन्दा भिन्न हुन नसक्ने बताउँदै भने, “जहाँ विधिको शासन पूर्णरुपमा सञ्चालन भएको हुन्छ, त्यहाँ विकासका पाइला अघि बढेका छन् ।” अरु कुरा सच्चिन सक्छन् तर न्याय बिग्रियो भने सबै कुरा समाप्त हुने भएकाले न्याय व्यवस्थालाई दरिलो र व्यवस्थित बनाउन यसका सिद्धान्त र पद्धतिलाई जगाउनुपर्ने उनको भनाइ छ ।

उनले दशकौँअघिदेखि थन्केर रहेका मुद्दा कसरी फैसला गराउने भन्ने विषयमा नियमावली संशोधन भएको हुँदा न्याय सम्पादन द्रुत गतिमा अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

उनले नवनिर्मित भवनको सम्झौता अवधिभित्र गुणस्तरीय भवन बनाउनुपर्ने बताउँदै समयभन्दा छ महिनाअघि निर्माण भएमा निर्माण व्यवसायीलाई दुई प्रतिशत बोनस दिन र ढिलो भएमा जरिवाना गर्न जिल्ला अदालतलाई निर्देशन दिए ।

कार्यक्रममा न्याय परिषद् सदस्य रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नकुल सुवेदी, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, प्रजिअ लक्ष्मीदेवी हुमागार्इँ, नेपाल बारका जिल्ला अध्यक्ष कमल चेम्जोङलगायतले मन्तव्य व्यक्त गरेका थिए । तीन करोड ८१ लाख ५० हजार ७०४ को लागतमा दुई वर्षभित्र भवन निर्माण हुने बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस