आज भाइटीका, उत्तम साइत ११ः५१ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज भाइटीका, उत्तम साइत ११ः५१


४ कार्तिक २०७४, शनिबार


काठमाडौं । हिन्दू नेपालको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

भाइटीकाको उत्तम साइत ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दाजुभाइको पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीकासँगै मखमली, सयपत्री, गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रमा भने पञ्चरङ्गी टीका लगाउने उल्लेख समितिले जनाएको छ । समितिका अनुसार तिहारमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने शास्त्रमा उल्लेख गरिएको छ ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिने धार्मिक परम्परा छ ।

दिदीबहिनी नहुनेले काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गई पूजा र दर्शन गरी टीका लगाउने गर्छन् । आज बिहानैदेखि मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेको भीड लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस