लोकसेवाको पुस्तक लेखनमा ‘ट्रेन्ड चेन्ज’ गर्न जरूरी छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोकसेवाको पुस्तक लेखनमा ‘ट्रेन्ड चेन्ज’ गर्न जरूरी छ


१ कार्तिक २०७४, बुधबार


नेपाल सरकारका उपसचिव गोकर्णप्रसाद उपाध्यायको ‘प्रशासन र व्यवस्थापन’ पुस्तक आजदेखि बजारमा आएको छ । पुस्तक लेखनको झण्डै ६ वर्षे यात्रामा यो उहाँको ३२औं पुस्तक हो । पुस्तकका विषयवस्तु, लेखन यात्रा र लोकसेवाको अध्ययन लगायतका विषयमा प्रशासन डटकमकालागि एस राज उपाध्यायले गरेको कुराकानी ।

‘प्रशासन र व्यवस्थापन’ कस्तो पुस्तक हो ?
नेपालको सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयलाई लक्षित गरेर पुस्तक लेखेको हुँ । विश्वमा विकसित भएका प्रशासनका सैद्धान्तिक आधारहरू र नेपालमा तिनको व्यावहारिक प्रयोग कस्तो छ भन्नेमा पुस्तक केन्द्रित छ । आफैले पनि उपसचिव परीक्षाको तयारीका क्रममा विभिन्न स्रोत सामग्रीहरू प्रयोग गरेर यो पुस्तक लेखेको हुँ ।

यो पुस्तकमा के त्यस्तो सामग्री छ, जसले गर्दा पाठकले पढ्नुपर्छ ?
यसलाई दुईटा ‘एङ्गल’बाट हेर्न सकिन्छ जस्तो लाग्छ । एउटा, नेपालको प्रशासनिक कोणबाट । भनौ न, नेपालको प्रशासन संयन्त्र कस्तो छ ? यसले कसरी काम गरिरहेको छ ? यसका ‘मेकानिज्म’हरू कत्तिको ‘इफेक्टिभली’ काम गरिरहेका छन् ? फङ्सन कसरी गरिरहेका छन् ? पुस्तकले यस्ता विषयहरूमा जानकारी दिन्छ ।

अर्काे, लोकसेवा परीक्षाको दृष्टिकोणबाट । लोकसेवाले लिने उपसचिव तथा अन्य पदको परीक्षाका लागि यो एकदमै उपयोगी सामग्री छ । लोकसेवाको प्रतिस्पर्धामा आउन चाहनेले यो पुस्तक अध्ययन गरेर फाइदा लिन सक्छन् ।

‘प्रशासन र व्यवस्थापन’ लोकसेवा आयोगको तयारी गर्ने परीक्षार्थीका लागि बढी उपयोगी छ ?
हो । यसलाई त्यसरी पनि बुझ्न सकिन्छ । साथै, यसमा गहन रूपमा हाम्रा प्रशासनिक क्षेत्रका अभ्यासलाई समेटिएकोले यो एउटा संग्रहणीय पुस्तक पनि हुन सक्छ ।

लोकसेवामा प्रवेश गरेको छोटो समयमै धेरै पुस्तक लेख्नुभयो, पुस्तक लेखनमा आकर्षण हुनुको कारण ?
लेखन मेरो बच्चैदेखिको रूचि हो । मैले व्यावसायिक रूपमै लेख्न थालेको एक दशकै पुगिसक्यो । कलेज सक्नेबित्तिकै ‘राजधानी’, ‘अन्नपूर्ण पोष्ट’ ‘नेपाल समाचारपत्र’ जस्ता पत्रिकामा ‘फिचर’ लेख्थेँ । त्यसैलाई निरन्तरता दिँदै लेखन मेरो रुचि मात्र नभएर ‘प्यासन’ जस्तो बन्यो ।

सुरूमा साथीहरूले लेखन राम्रो भन्दै निरन्तरता दिन सुझाव दिए । त्यसैबाट हौसिएर पुस्तक प्रकाशन गरे । त्यसपछि पाठकले पुस्तक मन पराइ दिनुभयो । र, यसले लेखनमा थप ऊर्जा मिल्यो । मैले समय सदुपयोग गरी लेखनमा क्रियाशील भएँ । त्यसैको परिणाम ३२औ पुस्तकका रूपमा ‘प्रशासन र व्यवस्थापन’ बजारमा आएको छ ।

पुस्तक लेख्दै गर्दा कस्ता विषयवस्तु तपाइको प्राथमिकतामा पर्छन् ?
मूलतः लोकसेवा आयोगको पाठ्यक्रममा आधारित भएर लेख्छु । यो पुस्तकमा भने प्रशासन र व्यवस्थापनका सैद्धान्तिक कुरा, हामीले गर्ने प्रयोगका व्यावहारिक पाटा र अरू देशका अभ्यासबारे लेखेको छु । यसमा हामी कहाँ चुकेका छौ ? अब कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने कुराहरूलाई पुस्तकमा समेट्ने प्रयास गरेको छु ।

लोकसेवासम्बन्धी लेख्दा सजिलो कि अन्य विषयवस्तुमा कलम चलाउन सजिलो ?
लोकसेवाबारे लेखन अरुभन्दा संवेदनशील हो जस्तो लाग्छ मलाई । त्यसैले गम्भीर र संवेदनशील भएर लेख्नुपर्छ । किनभने यो व्यक्तिको ‘करियर’सँग जोडिएको विषय हो । लेखकको सामान्य हेलचेक्र्याइँले गलत तथ्याङ्क पेश भयो भने त्यसले कसैको वृत्ति विकासलाई नै असर पु¥याउँछ ।

यसका साथै थुप्रै ‘रिफरेन्स’ पाइने र त्यो हेरेर पनि लेख्न सकिने भएकाले लोक सेवाको लेखन सजिलो पनि छ जस्तो लाग्छ । यसलाई दुइटै ‘एङ्गल’बाट हेर्न सकिन्छ । एकातिर संवेदनशील छ भने अर्काेतिर पर्याप्त स्रोत सामग्री पनि पाइन्छन् ।
अन्य लेखन, जस्तै साहित्य लेख्दा कल्पनामा हराएर वा डुबेर लेख्न सकिन्छ, त्यसमा कुनै आधार आवश्यक नपर्ने भएकोले जोखिम कम हुन्छ ।

झण्डै ६ वर्षको अवधिमा करीब ३ दर्जन पुस्तक प्रकाशन गरिसक्नुभयो, जागिर पनि गर्नुहुन्छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
फेसबुकमा पनि म उत्तिकै समय दिन्छु पाठकहरूलाई । यो कुरा छुटाउनुभयो नि । हाहाहा ।

समय सबैलाई बराबर हुन्छ । तर पनि समयलाई कसरी छुट्याउने, कसरी आफू अनुकूल प्रयोग गर्ने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्छ । मेरो सन्दर्भमा म पुस्तकको टेक्निकल पाटोको काम पनि आफै गर्छु । जस्तैः टाइप, पु्रफ रिडिङ, सेटिङ । अहिलेसम्म कुनै पनि पुस्तक मैले अरूमार्फत गराएको छैन । आफै काम गर्ने भएकाले छोटो अवधिमा धेरै काम गर्न सकिन्छ ।

अर्को कुरा, काम निरन्तर गर्ने गरेको छु । यसले लेखनलाई सहज बनाउँछ । रह्यो कुरा जागिरप्रति इमानदार त हुनैपर्छ, त्यसमा मैले कुनै सम्झौता गर्दिन । मेरो विचारमा समय व्यवस्थापनलाई यिनै कुराहरूले सघाउँछन् ।

पुस्तकमा ‘विश्वव्यापी सिद्धान्त र नेपालको यथार्थ’ भन्नु भएको छ, विश्वव्यापी सिद्धान्तहरू नेपालमा कत्तिको लागु हुने गरेका छन् ? तपाइ त नेपाल सरकारको जागिरे पनि हो ।
प्रशासनका विश्वव्यापी सिद्धान्तबारे नेपालको ‘प्राक्टिस’ हेर्दा हामी कतिपय ठाउँमा चुकेका छौं । यद्यपि विश्वमा विभिन्न देशमा विकसित र लागू भएका प्राय सिद्धान्तलाई हामीले प्रयोग गर्दै आएका छौं । जस्तैः विद्युतीय शासन, कार्यालय समयमा लचकता, नयाँ सार्वजनिक सेवा आदि । तर, तिनलाई हाम्रो परिवेश अनुसार ढालेर प्रयोग गर्नुपर्नेमा हुबहु प्रयोग गर्दा चुक्न पुगेको अनुभूति हुन्छ । अर्कोतर्फ, कतिपय कुरा हामीले राम्रोसँग प्रयोग पनि गरेका छौं । जस्तैः नागरिक बडापत्र, ‘एनपिएम’का विधिहरू, विकास प्रशासनको अवधारणा, सूचनाको हक । तर, सबैमा अपेक्षित रूपमा सफल छैनौं त्यसको फरक विश्लेषण गर्न सकिन्छ । यो सायद हाम्रो ‘एड्मिनिस्ट्रेटिभ कल्चर’को कुरा पनि हुन सक्छ या त्यसलाई बढी ‘फोकस’ नगरेर अन्य कुरामा अल्झिएर पनि हुन सक्छ ।

नेपालमा लागु हुन नसक्नुका कठिनाइ अर्थात यस पछाडिका कारण के देख्नुहुन्छ ?
अहिलेको राजनीतिक, सामाजिक तथा भौगोलिक अवस्था र न्यून स्रोत साधनले गर्दा सबै कुरा हुबहु लागू गर्न सकिने अवस्था छैन । हाम्रो परिवेशले ती कुरा लागू गर्न कठिन भइरहेको जस्तो मलाई लाग्छ । कर्मचारीतन्त्रको इच्छाशक्ति र राज्यले कानुनको शासनको पूर्ण अभ्यास गर्न नसक्दा बेथितिहरूलाई बल पुगेको जस्तो लाग्छ ।

व्यावहारिक पक्ष झल्किन्छन् यहाँका पुस्तकमा यसमा पनि त्यसलाई निरन्तरता दिनु भएको होला नि हैन, कि सैद्धान्तिक नै बढी छ ?
हो । मैले लेखनीमा व्यावहारिक पक्षलाई जोड दिदै आएको छु । यो पुस्तकलाई पनि व्यावहारिक बनाउन छोट्करीमा लेखेको छु । दोस्रो कुरा, सबै कुरालाई बुँदागत रूपमा केलायर लेख्ने प्रयास गरेको छु । ‘एक्जाम प्वाइन्ट अफ भ्यू’बाट पुस्तक लेखिएकाले अनावश्यक कुरा समावश छन् जस्तो मलाई लाग्दैन । यसलाई व्यावहारिक बनाउन हरेक कुरामा हाम्रो ‘प्राक्टिस’ लाई विभिन्न कोणबाट केलाएको छु ? हाम्रा नीति नियम के छन् ? व्यवहार कस्तो छ ? नीतिका सैद्धान्तिक आधार र व्यावहारिक फरकबारे नजिकबाट विश्लेषण गरेको छु ।

अर्काे कुरा, मैले चार–पाँच कुरालाई आधार मानेर पुस्तक लेखेको हुँ । नेपालको संविधान, चौधौं योजना, प्रशासन सुधार समितिको पछिल्लो प्रतिवेदन, राष्ट्रिय योजना आयोगको अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, विश्वव्यापी दिगो विकास लक्ष्य आदि विषयलाई आधार लिएकोले पुस्तक बढी व्यावहारिक छ भन्ने मलाई लागेको छ ।

आजसम्मको लेखनयात्रामा पाठकको प्रतिक्रिया कस्तो पाउनु भा’छ ?
वास्तवमा मलाई लेख्न हौस्याउने नै पाठक हुन् । पुस्तक लेखेर पैसा कमाउला भन्ने अहिलेसम्म देखिएको छैन । निजामती सेवाबारे पुस्तक लेख्नेको हकमा कमैमा त्यो लागू भएको होला ।

पुस्तक लेखेपछि विभिन्न ठाउँबाट ‘रेस्पोन्स’ आउँछ । साथीभाइ तथा पाठकले राम्रो छ भन्ने प्रतिक्रिया दिन्छन् । पुस्तक पढ्ने कोही यो फाइदा लिए भन्छन् त कोही लोकसेवा पास गर्न योगदान गरेकोमा धन्यवाद दिन्छन् । कोहीले त लोकसेवामा सफल भएको भन्दै कोशेली बोकेरै खोजदै आउँछन् । त्यस्तो हुँदा एकदम आनन्द लाग्छ । र, लेखिरहन प्रेरित गर्छ । पूर्वदेखि पश्चिमसम्म सबैको माया पाएको छु ।

लोकसेवा सम्बन्धी पुस्तक लेख्दै गर्दा हालको लेखन पद्धतिमा सुधार गर्नुपर्छ जस्तो लागिरहेको छैन ? कि यो पद्धति ठिक छ ?
लोकसेवाको पुस्तक लेखनमा अलिकति सुधार गर्नुपर्ने कुरा छ । अहिलेसम्म परम्परागत लेखाइ छ । त्यो लेखाइको ट्रेन्ड चेन्ज गर्ने खोजमूलक तरिकाले लेख्ने ट्रेन्डको सुरुवात गर्नुपर्छ । र, मैले धेरै हदसम्म त्यो गरेको छु । त्यस अर्थमा पनि मलाई पाठकहरुले मन पराउनु भएजस्तो लाग्छ । यी कुराले नै मलाई लेखनमा तानेको छ र तानिरहनेछ ।

तपाईंको लेखनले कहिलेसम्म निरन्तरता पाउँछ ?
बडो गाह्रो प्रश्न सोध्नुभयो । मैले यहाँ पुग्छु भनेर लेखेकै थिइनँ । अहिलेसम्म लेखाइ छाड्छु भन्ने कुनै बिन्दुमा सोचेको छैन । लेखन निरन्तर गर्ने चाहना छ ।

लेखनले एक किसिमको ऊर्जा दिँदो रहेछ । नयाँ किसिमले लेख्न सक्यो भने महान काम गरेजस्तो लाग्दो रहेछ आफैलाई । कामको प्रशंसा हुँदा र पुस्तकबाट कसैले केही फाइदा लिँदा आनन्द आउँदो रहेछ । त्यसकारण यो अवधिसम्म लेख्छु भन्ने कुनै ‘डिमार्केसन’ छैन । सकेसम्म लेखनलाई निरन्तरता दिइराख्ने छु । संख्यात्मक रूपमा कुनै टार्गेट छैन । तर, ५० भन्दा बढी पुस्तक त पक्कै लेख्छु कि जस्तो लाग्छ ।

यहाँका पुस्तकहरु लोकसेवा केन्द्रित नै बढी देखिएकोले खासगरी कुन तहका लागि बढी लेखिएका छन् ?
अहिलेसम्म उपसचिव, शाखा अधिकृत, नासु, खरिदार, सहायक महिला विकास निरीक्षक पदका लागि केन्द्रित भएर बढी पुस्तक लेखेको छु ।

खासगरी युवाहरुका लागि सुनौलो भविष्य निर्माणको सारथि बनिरहँदा पाठकहरुबाट के अपेक्षा राख्नुभएको छ ?
स्तरीय पुस्तक छानेर पढ्नुस्, लेखकलाई हौसला दिनुस् । लेखकसँग जोडिनुस्, अहिले सोसल मिडियाबाट जुनसुकै बेला पनि जोडिन सकिन्छ ।

मबाट सुझाव लिन र मलाई केही ‘फिडब्याक’ दिन सकिन्छ । पुस्तकमा मात्रै सीमित नहुनुस्, आफैले खोजेर र अध्ययन अनुसन्धान गरेर पढ्ने बानीको विकास गर्नुस् । अध्ययनलाई कुनै अवसरमा मात्र निरन्तरता दिने भन्दा पनि यसलाई जीवनशैली नै बनाउनुहोस् भन्छु ।


र यो पनि,

निजामती सेवा दिवस : विश्व र नेपालमा

थाइल्याण्ड र नेपालको हुलाक सेवा

Tags :
प्रतिक्रिया दिनुहोस