निजामती सेवा दिवस : विश्व र नेपालमा « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

निजामती सेवा दिवस : विश्व र नेपालमा


गोकर्णप्रसाद उपाध्याय

२२ भाद्र २०७४, बिहिबार


निजामती सेवालाई विश्वका विभिन्न देशमा कतै निजामती सेवा, कतै जनप्रशासन, कतै सिभिल सेवाका नामले चिनिन्छ । नाम जेसुकै भए पनि यसको मूल काम सार्वजनिक सेवा प्रवाह प्रभावकारी र न्यायपूर्ण ढङ्गले गर्ने हो । र, सेवा प्रवाह जति चुस्त र सक्षम तरिकाले गरियो निजामती सेवा र सेवकको मूल्याङ्कन जनताले त्यही रूपमा गरेका हुन्छन् । विश्वभर विभिन्न देशका निजामती सेवाले सार्वजनिक प्रशासनको क्षेत्रमा नयाँ–नयाँ अवधारणाको प्रयोग गर्नुको मूल कारण पनि सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नै हो । बेलायतको नागरिक वडापत्र होस् वा दक्षिण अफ्रिकाको ‘बाथो पेले’ अर्थात जनता पहिले भन्ने अवधारणा । त्यसैगरी न्युजिल्याण्डको सेवा करार ‘कन्ट्राक्टिङ् आउट’ नै किन नहोस्, सबैको उद्देश्य उही हो– सेवालाई कसरी जनमुखी तुल्याउने । नेपालले पनि विश्व प्रशासनिक परिवेशमा झुल्किएका र चम्किएका दुवैखाले अवधारणाहरूलाई क्रमिक प्रयोग गर्दै आउन थालेको छ । यसमध्ये कतिपयको कार्यान्वयन राम्ररी हुन सकेको छ भने कतिपयको फितलो ।

निजामती सेवाको यही अपरिहार्यतालाई बोध गरेर संयुक्त राष्ट्र संघले सन् २००३ देखि जुन २३ लाई ‘पब्लिक सर्भिस डे’ (विश्व सार्वजनिक सेवा दिवस) का रूपमा मनाउँदै आएको छ ।

विश्वमा पब्लिक सर्भिस डे मनाउन थाल्नुको मुख्य चारओटा कारण वा उद्देश्यहरू छन् । पहिलो, समुदायमा सार्वजनिक सेवाको मूल्यप्रति सम्मान बढाउने । दोस्रो, विकास प्रक्रियामा सार्वजनिक प्रशासनको योगदानको चर्चा र प्रशंसा गर्ने । तेस्रो, कर्मचारीहरूको कार्यसम्पादनलाई पहिचान दिने । र, चौथो, युवाहरूलाई सार्वजनिक प्रशासनप्रति आकर्षित गर्न वातावरण सिर्जना गर्ने । पब्लिक सर्भिस डे ले बोकेका मान्यताहरूलाई नेपालको निजामती सेवाले पनि कुनै न कुनै रूपले स्वीकार्दै, अनुसरण गर्दै र आफ्नै केही यथार्थमा टेकेर २०६१ साल (सन् २००४) देखि ‘निजामती सेवा दिवस’ मनाउन थालेको मान्न सकिन्छ ।

पब्लिक सर्भिस डेका अवसरमा विश्वलाई पाँचओटा क्षेत्रमा छुट्याएर ‘युएन पब्लिक सर्भिस अवार्ड’ पनि प्रदान गरिन्छ जसरी हामीकहाँ निजामती सेवा पुरस्कार दिने गरिन्छ । फरक यति हो हामीकहाँ व्यक्तिलाई दिइन्छ संयुक्त राष्ट्र संघले संस्थालाई । उक्त पुरस्कार कुनै पनि संस्थाले आफैले पाउनुपर्ने दाबी गर्न सक्दैनन् । अरूले सिफारिस गर्नुपर्छ । यी कुराहरूले त्यहाँको र हाम्रो पद्धतिमा प्रष्ट भिन्नता देखाउँछ । हामी संस्थागतभन्दा व्यक्तिवादी (सेल्फ–सेन्ट्रिक) भएकोतर्फ सामान्य संकेत गर्छ । किनकि यहाँ कसैले आफैले पुरस्कार पाउनुपर्ने दाबीसहित आफ्नै नाम सिफारिस गरेको उदाहरणहरू सतहमै आएका पनि छन् ।

छिमेकी मित्र राष्ट्र भारतमा पनि निजामती सेवा दिवस मनाइन्छ । हाम्रो निजामती सेवाका शैली र ‘मोडल’ भारतबाटै नक्कल गर्ने गरिएको सन्दर्भमा निजामती सेवा दिवस अपवादका रूपमा देखा पर्छ किनकि यो अवधारणा भारतभन्दा पहिले नेपालले ल्याइसकेको हो । भारतको प्रथम गृहमन्त्री सरदार बल्लभभाई पटेलले १९४७ अप्रिल २१ मा भारतीय प्रशासन सेवा (आइएएस) का अधिकृतहरूको पहिलो ‘ब्याच’लाई सम्बोधन गर्ने क्रममा त्यहाँको कर्मचारीतन्त्रलाई ‘स्टिल फ्रेम’को संज्ञा दिएका थिए । सोही दिनको अवसर पारेर सन् २००६ देखि हरेक वर्ष अप्रिल २१ मा भारतीय ‘सिविल सेवा दिवस’ मनाइन्छ । भारतीय निजामती सेवाको लागि यो दिवस विशेष अवसरका रूपमा मनाइने भएकोले यसले विशेष उल्लास सिर्जना गर्छ ।

ब्राजिलमा निजामती कर्मचारीको उल्लास फरक ढङ्गले मनाइँदो रहेछ । हरेक वर्ष सरकारले अन्यथा निर्णय गरेन भने अक्टोबर २८ मा (सन् २०१७ मा अक्टोबर २७ मा मनाउने निर्णय गरेको छ) त्यहाँ निजामती कर्मचारीको दिवसका रूपमा ‘सिभिल सर्भेन्टस् डे’ मनाइन्छ । ब्राजिलमा यो दिवस अन्यत्रभन्दा फरक तरिकाले कुनै किसिमको विशेष कार्यक्रम आयोजना गर्ने, प्रतियोगिता वा प्रभातफेरी गर्ने नभई केवल देशभरका निजामती र बैंकका कर्मचारीलाई सार्वजनिक बिदा दिएर मनाइने गरेको देखिन्छ ।

मैले आजसम्मको अध्ययनमा निजामती सेवा दिवस मनाउने देशहरूको सूचीमा सबैभन्दा पुरानो थाइल्याण्डलाई पाएको छु । त्यहाँ तत्कालीन राजा प्रजाधिपोकले आधुनिक निजामती सेवाको जग बसाल्ने क्रममा सन् १९२९ अप्रिल १ मा निजामती सेवा ऐन लागू गरेको अवसर पारेर सन् १९७९ देखि निजामती सेवा दिवस मनाउन थालिएको हो । हरेक वर्ष अप्रिल १ मा विशेष मेला र प्रदर्शनी आयोजना गर्ने र प्रधानमन्त्रीबाट विशेष पुरस्कार प्रदान गरेर कर्मचारीको योगदानको कदर गर्दै मनोबल बढाउने काम हुन्छ । सन् २०१७ मा मनाइएको दिवसमा मुलुकलाई मध्यम आयबाट उच्च आय भएको मुलुकमा स्तरोन्नति गर्ने र सेवा प्रवाहलाई अरू प्रभावकारी बनाउने दिशामा थाई निजामती सेवाले भूमिका खेल्नुपर्ने बताइएको थियो ।

नेपालमा २०१३ साल निजामती सेवाको लागि कोशेढुङ्गा मानिन्छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ ले दिएको सुझावबमोजिम सोही वर्ष भदौ २२ गते पहिलो पटक निजामती सेवा ऐन, २०१३ जारी भयो । सोही दिनको अवसर पारेर २०६१ देखि ‘निजामती सेवा दिवस’ मनाउन थालियो । नेपालमा यो दिवस मनाउनुको मूल उद्देश्य निजामती सेवाबारे जनचासो बढाउने, सेवाको गतिशीलतामा वृद्धि गर्ने, सुशासन कायम गर्न यस सेवाको भूमिका बढाउने, युवा जनशक्ति र बजारका उत्कृष्ट प्रतिभालाई सेवाप्रति आकर्षित गर्ने रहेको छ । आज वार्षिक करिब छ लाख युवाहरू लोकसेवा आयोगबाट लिइने विभिन्न पदको प्रतिस्पर्धामा उत्रिएर निजामती सेवाका केही हजार पदमा प्रवेश पाइरहेका छन् । मुलुकको सबैभन्दा ठूलो रोजगारदाता नै निजामती सेवा बनेको सन्दर्भमा यसले युवाहरूलाई एक किसिमले विदेश पलायन हुनबाट रोकिरहेको छ । यस्तो महत्वपूर्ण सेवाको बारेमा प्रचारप्रसार गर्ने र यसभित्र रहेका ८० हजार कर्मचारीको पहिचान दिलाउन मनाइने यो दिवसले निरन्तरता पाउनुपर्छ ।

नेपालमा निजामती सेवा दिवस विशेष नाराका साथ विविध कार्यक्रमहरू आयोजना गरेर मनाइन्छ । यस वर्षको नारा ‘निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शिता र चुस्तता’ रहेको छ । यसअघिका दिवसका नारामा समग्र सेवाको कुरा आउने गरेकोमा १४ औं वर्षमा आइपुग्दा पहिलोपटक नाराले कर्मचारीहरूलाई समेटेको छ । कर्मचारीले सही कर्म गरेको खण्डमा मात्र सेवाले मूर्तता पाउँछ । समग्र देशको समृद्धि कुनै न कुनै हिसाबले तिनै कर्मचारीको हातमा रहेकोले वास्तविकतामा उनीहरू केवल कर्मचारीमा सीमित रहनु हुँदैन, कर्मयोगी बन्नुपर्छ । कर्मचारीको नशानशामा प्रतिबद्धता हुनुपर्छ अनि व्यवहारमा पर्याप्त पारदर्शिता र चुस्तता पनि । तब मात्र अपेक्षा गरेको लक्ष्यतर्फ प्रशासनलाई डोर्याउन सकिन्छ ।

हो, निजामती सेवाले जनताको अपेक्षाअनुरूप काम गर्न सकेको छैन । विश्लेषकहरू भन्छन्, ‘स्थायी सरकार मानिने नेपालको निजामती सेवा आफैमा अस्थिर प्रकृतिको छ । यो सेवा आफ्नै आधारभूत मूल्य मान्यताहरूमा अडिग हुन सकेको छैन ।’ अर्कोतर्फ सेवाग्राही भन्छन्, ‘निजामती सेवाले सेवा प्रवाह सरल रूपले गर्न सकेन । घरदैलोमै पुग्ने बाचा कहिल्यै छोडेन तर अनुभूति हुने गरी काम पनि कहिल्यै गरेन ।’ यही गुनासो रहिरहने हो भने संघीयतामा निजामती सेवाले झनै आरोप खेप्नुपर्ने संकेतहरू देखिइरहेका छन् । राजनीतिक रूपले संघीयताको खाका कोरिइसक्यो तर प्रशासनिक खाका अझैसम्म कोरिन सकेको छैन । कर्मचारीलाई स्थानीय तहसम्म लैजान अझै पनि कानुनी आधार र उत्प्रेरणाको वातावरण सिर्जना गर्न बाँकी देखिन्छ । २०७४ सालमा १४ औं निजामती सेवा दिवस मनाइरहँदा र निजामती सेवाको करिब ६ दशक पार गरिसक्दा नेपालको कर्मचारीतन्त्र कहिल्यै ‘स्ट्रङ ब्युरोक्रेसी’का रूपमा उपस्थित हुन सकेको छैन । बलियो यस अर्थमा भएन कि यसले पूर्णरूपमा पद्धतिमूलक भइ काम गर्न सकेन, राजनीतिसामु डगडगाइरह्यो, आफ्ना मूल्यको पालना गर्न हच्कियो ।

निजामती सेवा दिवस कम्तीमा ८० हजार कर्मठ कर्मचारीको राष्ट्रिय उत्सव हुनुका साथै तिनको मनोबल र मनोत्साहको विषय पनि हो । यो उत्सव निसन्देह उल्लासपूर्ण वातावरणमा मनाइनुपर्छ । तर, कर्मचारीले चाहिँ इमान्दार भएर आजकै उत्प्रेरणा र ऊर्जा वर्षैभरि कायम राखेर नतिजामूलक भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यो ऊर्जा त्यतिबेला आउँछ जतिबेला ऊ आफ्ना लागिभन्दा अरूका लागि, परिवार भन्दा समाजका लागि र आफन्तभन्दा राष्ट्रका लागि सोच्ने र काम गर्ने हैसियत राख्छ । कर्मचारीको यस्तो हैसियत निर्माण गरिदिने काम फेरि राज्यले नै गर्न सक्छ । कर्मचारीका आवश्यकताको उचित सम्बोधन गरेर, उसको वृत्ति विकासको ‘ग्यारेन्टी’ गरेर, योग्यता प्रणालीको वैज्ञानिक र मिहिन उपयोग गरेर होस् चाहे सुशासनका तत्वहरूको कार्यान्वयन गरेर ।

कर्मचारीले राजनीतिसँग सहकार्य र समन्वय गर्दै यस्तो सुन्दर देश हाँक्नु छ, संघीयताजस्तो बृहत् एवम् राज्य पुनर्संरचनाको मुद्दालाई निष्कर्षमा पुर्याउनु छ । यी सबैको कर्मचारीको योगदान सर्वोच्च रहने भएकोले उनीहरू सुस्ताउनु वा हतोत्साही हुनुहुँदैन । उनीहरू प्रतिबद्ध भएर लाग्नुको विकल्प जतासुकै खोजे पनि छैन । प्रतिबद्ध हुनु भनेकै कर्मयोगी हुनु भनेको हो । र, कर्मचारी कर्मयोगी बने देश बन्न सदियौं कुर्नै पर्दैन ।

सन्दर्भ सामग्रीहरू
तेह्रौं निजामती सेवा दिवस प्रतिवेदन, २०७३, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौं,

http://www.un.org/en/events/publicserviceday/

http://darpg.nic.in/hi/

https://www.quora.com/Why-is-the-21st-of-April-celebrated-as-Indian-Civil-Servants-day

https://anydayguide.com/calendar/3023

https://anydayguide.com/calendar/434

https://www.nytimes.com/2016/11/30/world/asia/thailand-military-junta-civil-servants-exercise.html

उपाध्याय नेपाल सरकारका उपसचिव हुन्

Tags :
प्रतिक्रिया दिनुहोस