दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय


१४ भाद्र २०७४, बुधबार


काठमाडौं । प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक/दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

कांग्रेसले छान्यो
सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार टुंगो लगाए पनि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए ।

माओवादी केन्द्रले दुई दिनभित्रै टुंग्याउने
जनकपुरमा मंगलबार बसेको माओवादी केन्द्र केन्द्र्रीय सचिवालय सदस्यको बैठकले १५ भदौभित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । उम्मेदवार छनोट, चुनावमा सहकार्यलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको सचिवालयको बैठक जनकपुरमा बसेको थियो ।
‘अब ढिला नगर्ने निर्णयमा हामी पुगेका छौं,’ सचिवालय सदस्य जोखकुमार वर्वरिया यादवले अन्नपूर्णसँग भने, ‘१५ भदौभित्रै सबै तहको टुंगिन्छ ।’ माओवादीले वीरगन्ज महानगरपालिका र जितपुर सिमरा, कलैया र जनकपुर उपमहानगरपालिकामा भने उम्मेदवार टुंगो लगाइसकेको छ ।

वीरगन्जमा रहबर अन्सारी, जितपुर-सिमरामा राजन पौडेल मेयर, गायत्रीदेवी थरुनी उपमेयर, कलैयामा मुकेश शाह मेयर, मेजुमा खातुन उपमेयर र जनकपुरमा दीपक यादवलाई मेयरका रूपमा अगाडि सारेको छ ।

एमालेको १० प्रतिशत बाँकी
एमालेले ९० प्रतिशत उम्मेदवार छनोट गरिसकेको छ । एमालेले ५९ वटा गाउँपालिकाको उम्मेदवार टुंग्याइसकेको छ भने ७३ नगरपालिकाको उम्मेदवार घोषणा हुन बाँकी रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार अध्यक्ष केपी ओली स्वदेश फर्केपछि उम्मेदवार छनोट हुन बाँकी स्थानीय तहमा पनि उम्मेदवार टुंग्याइनेछ । अब उम्मेदवार छनोटको काम १० प्रतिशत मात्रै बाँकी रहेको ज्ञवालीले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस