स्थानीय तहका लागि तत्काल १६ हजार कर्मचारी अभाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहका लागि तत्काल १६ हजार कर्मचारी अभाव


११ भाद्र २०७४, आइतबार


काठमाडौं । समयमै कर्मचारी व्यवस्थापन नहुँदा स्थानीय तहको काम–कारबाही प्रभावकारी बन्न सकेको छैन । सरकारले विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगर्दा कर्मचारी व्यवस्थापन प्रक्रिया अवरुद्ध बनेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात सय ४४ स्थानीय तहमा तत्काल कार्य सञ्चालनका लागि १६ हजार १६ कर्मचारी अभाव रहेको जनाएको छ । स्थानीय विकासले तीन साताअघि कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै पत्राचार गरे पनि सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउन सकेको छैन ।

स्थानीय विकास–सचिव दिनेशकुमार थपलियाले सबै तहको कोर फङसनुका लागि तत्काल १६ हजार १६ कर्मचारी अभाव रहेको जानकारी दिए । चाँडै कर्मचारी व्यवस्थापन गर्न नसके स्थानीय तहले प्रभावकारी रूपमा काम गर्न नसक्ने सचिव थपलियाको भनाइ छ ।

मन्त्रालयले टेरेन
सरकारले विभिन्न मन्त्रालय मातहतका कर्मचारीलाई स्थानीय तहमा खटाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सिँचाइका एक सय ६०, स्थानीय विकासका एक सय २०, खानेपानी तथा सरसफाइका ६९, भौतिक पूर्वाधार तथा यातायातका एक सय ४० र सहरी विकासका ६४ जना गरी पाँच सय ५३ इन्जिनियर स्थानीय तहमा खटाउने निर्णय भएको थियो । तर, यसको कार्यान्वयन हुन नसकेको सचिव थपलियाले बताए ।

कहाँ कति अभाव ?
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार चार सय ७९ गाउँपालिकाका तीन हजार चार सय १० वडा कार्यालयमा सचिवको काम गर्न नायब सुब्बा वा सोसरहका आठ सय ५० र प्रशासन सहायकका रूपमा काम गर्न तीन हजार चार सय १० कर्मचारीको अभाव भएको छ । दुई सय ४८ नगरपालिकाका दुई हजार आठ सय ७३ वडा कार्यालयमा सचिवका रूपमा काम गर्न नायब सुब्बा वा सोसरहका दुई हजार कर्मचारी अभाव रहेको मन्त्रालयले जनाएको छ ।

चार सय ७९ गाउँपालिकाका तीन हजार चार सय १० वडा कार्यालय र दुई हजार चार सय आठ नगरपालिकाका दुई हजार आठ सय ७३ वडा कार्यालयमा असिस्टेन्ट सबइन्जिनियर वा सबइन्जिनियर गरी ६ हजार २ सय ८३ जना प्राविधिक अभाव रहेको मन्त्रालयले जनाएको छ । स्थानीय विकास–सचिव थपलियाले विकास निर्माणका काम चाँडो सम्पन्न गर्न प्राविधिक कर्मचारी छिटोभन्दा छिटो खटाउनुपर्ने बताए ।

मन्त्रालयका अनुसार ११ उपमहानगरपालिकाका दुई सय ३२ वडा कार्यालयमा शाखा अधिकृत दुई सय र प्राविधिक सबइन्जिनियर दुई सय गरी चार सय कर्मचारी अभाव भएको छ । ६ महानगरपालिकाका एक सय ६९ वडामा एक सय शाखा अधिकृत र एक सय इन्जिनियर पुगेको छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस