समाधानका लागि आदेश जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समाधानका लागि आदेश जारी


११ भाद्र २०७४, आइतबार


काठमाडौं । सरकारले स्थानीय तहमा कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्न ‘स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धि आदेश २०७४’ जारी गरेको छ ।

स्थानीय तहमा तत्काल कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्न आदेश जारी भएको हो । तत्कालका लागि स्थानीय तहमा कर्मचारी व्यवस्थापन समस्या समाधान हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कर्मचारी र भौतिक संरचना अभावले स्थानीय तहको सेवा प्रभावकारी हुन सकेको छैन । स्थानीय तहमा कर्मचारी र भौतिक संरचना अभावले सेवा लिन सकस भोग्नुपरेको सेवाग्राही बताउँछन् । वडा कार्यालयको भौतिक संरचना अझै बन्न नसकेको बैतडी, पाटन नगरपालिका–८ का दीपेन्द्र भण्डारी बताउँछन् । ‘गाउँगाउँमा सिंहदरवार भन्ने नारा नारामै सीमित भएको छ,’ उनी भन्छन् ‘वडा नम्बर ८ का कार्यालय अर्काे वडामा राखिएको छ । यसले सेवाग्राहीलाई झन् समस्या भइरहेको छ ।’

स्थानीय तहमा तत्काल कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने सेवाग्राहीको माग छ ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवराम न्यौपाने स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन गर्न यस सम्बन्धी आदेश जारी भएकाले अब समस्या समाधान हुनेमा विश्वस्त छन् । ‘स्थानीय, प्रान्तीय र संघीय तहमा कर्मचारी समायोजन गर्न ऐन कानुन नबनेकाले तत्काल कर्मचारीको अस्थायी व्यवस्थापनका लागि आदेश जारी भएको हो,’ उनले भने ।

मन्त्रालयले स्थानीय तहमा तत्काल आवश्यक कर्मचारी व्यवस्थापनका लागि सरोकारवाला निकायलाई परिपत्र गरिसकेको जानकारी दिए । ‘आदेशले स्थानीय तहलाई क्रियाशील बनाउन पनि टेवा पुग्नेछ,’ उनले भने ।

स्थानीय तहमा जतिसक्दो छिटो कर्मचारी खटाउन पहल गरिरहेको उनले जानकारी दिए ।

स्थानीय तहमा तत्काल कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्न चुनौती रहेको विज्ञ बताउँछन् । तर, सहसचिव न्यौपाने भने स्थानीय तहमा पावर, स्रोत, कर्मचारी पूर्वाधार डेलिभरी गर्नुपर्छ भन्ने मानसिकतामा काम गरे सहज व्यवस्थापन गर्न सकिने बताउँछन् ।

‘नयाँ काम भएकाले पनि सुरुमा केही समस्या देखिएला । बिस्तारै सहज हुन्छ,’ सहसचिव न्यौपाने भन्छन् ।

 

र यो पनि,

स्थानीय तहमा कर्मचारी खटाउन परिपत्र गरिसकेका छौं

Tags :
प्रतिक्रिया दिनुहोस