अन्तरद्वन्द्व नत्यागे भविष्य समाप्त हुने : मन्त्री गौतम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्तरद्वन्द्व नत्यागे भविष्य समाप्त हुने : मन्त्री गौतम


२७ श्रावण २०७४, शुक्रबार


बर्दिया । सिँचाइमन्त्री एवम् नेपाली काँग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेसीको भविष्य समाप्त हुनसक्ने बताउँदै समग्र काँग्रेस निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सिँचाइमन्त्री बनेपछि पहिलो पटक राजापुर क्षेत्रमा पुग्नुभएका मन्त्री गौतमले नेपाली काँग्रेस क्षेत्र नं. ४ ले राजापुरमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आपसी अन्तरविरोध कम गर्न नसके समग्र काँग्रेस निर्माण नहुने र त्यसले आगामी निर्वाचनमा पनि असर पुग्न सक्ने बताउँदै समग्र काँग्रेसमा नै सबैको भविष्य रहेको जिकिर गरे ।

काँग्रेस कार्यकर्ताबीच आपसी अन्तरविरोध र इगोका कारण राजापुर क्षेत्रमा बहुमत वडा जितेर पनि प्रमुख–उपप्रमुख गुमाउनु परेको प्रस्ट पार्दै काँग्रेस बर्दियाका सभापतिसमेत रहेका गौतमले इगो नत्यागे समग्र काँग्रेस निर्माण हुन नसक्ने र त्यसको असर आगामी निर्वाचनमा समेत परी समग्र काँग्रेसीको भविष्य नै समाप्त हुन सक्ने बताए ।

केही समयपछि हुनलागेको प्रदेश तथा केन्द्र चुनावमा बर्दियामा दुईवटा निर्वाचन क्षेत्र कायम रहने सङ्केत देखिएको प्रस्ट पार्दै नेता गौतमले कार्यकर्ता र नेताबीच अन्तरविरोध हटाएमा बर्दियामै सबै सिट काँग्रेसले जित्ने दाबी गरे ।

आफू मन्त्री हुनुमा बर्दियाका जनता र नेपाली काँग्रेसको ठूलो योगदान रहेको धारणा राख्दै उनले आफूलाई अधिकतम रुपमा उपयोग गर्न कार्यकर्तालाई सुझाव दिए । आफूले बर्दियाको माटो, विकास र राजनीति धेरै नजिकबाट बुझेको बताउँदै सिँचाइमन्त्री गौतमले आफू मन्त्री हुँदासम्म राजापुरको कर्णाली नियन्त्रण आयोजना, कैलालीको रानी जमरा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण कार्यले उच्च गति लिने बताए ।

पश्चिम क्षेत्रमा रहेका राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न गराउन आफू लागिपरेको प्रस्ट्याउँदै उनले सिँचाइ मन्त्रालयका सचिव, महानिर्देशक, जल उत्पन्नका महानिर्देशक सहितको टोली लिएर आफू आयोजनाहरुको निरीक्षणमा रहेको बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति दीपकजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका पूर्वसचिव भोजराज जोशीलगायतले राजापुर क्षेत्रमा कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट विनियोजन गर्न, बूढीखोलालाई पनि कर्णाली नदी नियन्त्रण आयोजनामा सामेल गर्न र सतीघाटको पुलको पूर्वी किनारमा थप पक्की तटबन्ध गर्न सुझाव दिएका थिए ।

मन्त्री तथा काँग्रेस नेता गौतमलाई राजापुर नगरवासीका तर्फबाट राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, उपप्रमुख मनकला चौधरी र कार्यकारी अधिकृत चिरञ्जीवी गिरीले स्वागत गरेका थिए ।

स्वागतपछि नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख चौधरीले सिँचाइमन्त्री गौतमले सतीघाटको पुलको पूर्वी किनारमा हालको भन्दा चौडा र लामो पक्की तटबन्ध निर्माण गर्नुपर्ने, राजापुर क्षेत्रका किसानको सिँचाइको स्रोतका रुपमा रहेको बूढीखोलामा बढिरहेको बालुवाकरण रोक्न विशेष संरचना बनाउनुपर्ने र कर्णाली, गेरुवा तथा बूढीखोलामा आउने बाढीका कारण कटान तथा डुबान हुने क्षेत्रमा नदी कटान नियन्त्रण हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाए ।

बर्दिया उद्योग वाणिज्य सङ्घका तर्फबाट पनि मन्त्री गौतमलाई स्वागत गर्दै ज्ञापनपत्र बुझाइएको छ । मन्त्री गौतमलाई नापनक्सा तथा कित्ताकाट भइसकेको राजापुर बजारका बासिन्दालाई तत्काल जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन भूमिसुधार मन्त्रालयमा पहल गरिदिनुपर्ने मागसहित बर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्दे्रश्वर सुवेदी, उपाध्यक्ष गोविन्द रिजाल र सदस्य मोहन झा सहितको टोलीले स्वागत गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मन्त्री गौतमलाई ढोढरीको खाता सामुदायिक वनको तर्फबाट पनि स्वागत गर्दै ज्ञापनपत्र बुझाइएको छ । मन्त्री गौतमलाई नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेशराज योगी, ढोढरी गाउँसमितिका सभापति बलिराम थारू, सूर्यपटुवा काँग्रेसका युवानेता मिनु थापा लगायत नेता तथा कार्यकर्ताले स्वागत गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ओराई नदीको पत्थरबोझीमा पक्की पुल, ओराई नदीका विभिन्न स्थानमा तटबन्ध लगायतका माग राखेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ का तर्फबाट क्षेत्रीय सभापति दीपकजंग शाह सहितका नेता तथा कार्यकर्ताले सतीघाटमा सिँचाइमन्त्री सञ्जयकुमार गौतमको भव्य स्वागत गरेका थिए । मन्त्री गौतमलाई नेवि सङ्घका स्थानीय युवा विद्यार्थीले राजापुर पार्टी कार्यालयमा पुर्याएका थिए ।

मन्त्री गौतमको स्वागतमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति दीपकजंग शाहले कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट विनियोजन गर्न, बूढीखोलालाई पनि कर्णाली नदी नियन्त्रण आयोजनाभित्र सामेल गर्नुपर्ने माग अघि सारेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस