भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी


२२ श्रावण २०७४, आइतबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी भएकी छिन् ।

दाहाल ४३ हजार १२७ मतका साथ विजयी भइन भने उनका निटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । उनलाई नेपाली कांग्रेसकोसमेत समर्थन थियो ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छिन् । शाह ४७ हजार १९७ मत प्राप्त गर्दै विजयी भइन भने उनकी निटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।

मेयरमा बिजयी रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं. वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं. १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं. वडाको पनि गणना भएको थिएन । उक्त मत पनि आज गणना गरिएको हो ।

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो ।

पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस