‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ सार्वजनिक


६ श्रावण २०७४, शुक्रबार


काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ नामक पुस्तकको शुक्रबार एक समारोहबीच लोकार्पण गर्नुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा आयोजित कार्यक्रममा उनले सो पुस्तक लोकार्पण गरेका हुन् ।

पूर्व सांसद एवम् ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले लेखेको उक्त पुस्तक ८८६ पृष्ठको छ । यसअघि बस्नेतले नै ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–१’ पाठकमाझ ल्याएका थिए ।

पुस्तकको भाग–१ मा काँग्रेस स्थापनादेखि वि.सं. २०११ सम्मको इतिहास समेटिएको थियो भने भाग–२ मा २०११ देखि २०१७ सालसम्मको घटनाक्रमलाई समावेश गरिएको छ । एक हजार मूल्य रहेको पुस्तकको प्रकाशन ट्रष्टले नै गरेको हो ।

सो अवसरमा पूर्वराष्ट्रपति डा. यादवले काँग्रेसको इतिहास एउटा पार्टीको मात्र नभई देशको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक इतिहास भएको बताए ।

“यो पुस्तक प्रजातन्त्रको इतिहास हो, अहिले राजा महेन्द्रको जस्तो उग्र राष्ट्रवादको नारा लाग्नुमा प्रमुख दलका नेता गाउँ जानु भएको छैन, मैले सात वर्षको राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेको अवधिमा प्रमुख तीन दलका शीर्ष नेतालाई हिमाल, पहाड र तराई जान भनेँ तर जानुभएन, जसले गर्दा अहिलेको समस्या आयो”– उनले भने ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रका समस्या समाधान गर्न तीन दल एक ठाउँमा आउनुपर्नेमा जोड दिदैं संविधान संशोधनलाई संसद्मा छलफल गरेर प्रस्ताव प्रस्तुत गरी पारित वा फेल भएको घोषणा गर्ने प्रक्रिया अघि बढाउन माग गरे ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले बिपीको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । “काँग्रेस अहिले सीमान्तकृत बनेको छ, यसलाई कसरी अघि ल्याउने भन्नेमा पार्टी नेतृत्वको ध्यान जानुपर्छ”– उनले भने ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिपी क्रान्ति र शासन सत्ता दुवैको नेतृत्व गर्ने विश्वकै दुर्लभ राजनेतामध्ये एक हुनुभएको बताए । “सबै नेपालीलाई मध्यमस्तरमा पुर्याउने बिपीको लक्ष्य थियो, अहिले आयात छ, तर निर्यात नबढ्दा बिपीको लक्ष्य पूरा हुन सकेको छैन, आत्मनिर्भर अर्थतन्त्र बनाउनतर्फ अब हाम्रो ध्यान जानुपर्छ”– उनले भने ।

मन्त्री कार्कीले काँग्रेसको नेतृत्वमा नेपाल समृद्धिको यात्रामा जानेगरी इतिहासको अर्को अध्याय कोरिनुपर्नेमा जोड दिए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले राणा र शाह शासकलाई अन्त्य गरिसक्दा पनि प्रजातन्त्रमाथि खतरा नटरेको बताए ।

“प्रजातन्त्रलाई गरिबी र असमानताबाट खतरा छ, प्रजातन्त्रलाई स्थायी बनाउन जनता र प्रजातन्त्रलाई जोड्नुपर्छ, यसो भएमात्र बिपीको आत्मालाई शान्ति मिल्छ”– उनले भने ।

पूर्व सभामुख ढुंगानाले बिपीले पूरा गर्न नसकेको काँग्रेसको इतिहास लेखन बस्नेतले पूरा गरेका बताए ।

संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारीले पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै पुस्तकमा काँग्रेसको स्थापनाकालदेखिका उद्देश्य प्रष्टरुपमा आएको बताए ।

“बिपीले नवस्थापित प्रधानन्यायालयको प्रधानन्यायाधीश बनाउन पार्टी कार्यकर्ता खोज्नुभएन, अहिले काँग्रेसका ठूला नेताको न्यायालयप्रतिको धारणा के हो ? स्पष्ट हुनुपर्छ”– उनले भने ।

ट्रष्टका महासचिव एवं सांसद रामचन्द्र पोखरेलले काँग्रेस इतिहासको पहिलो भाग आधिकारिक भएको प्रतिक्रिया पूर्व प्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइरालाले दिएपछि दोस्रो भाग प्रकाशित गरिएको जानकारी गराए ।

पुस्तकका लेखक बस्नेतले काँग्रेसको इतिहासको पहिलो भाग प्रकाशित भएपछि पूर्व सभापतिद्वय गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराई एवं संस्थापक नेता रामहरि जोशीको प्रेरणाले दोस्रो भाग पाठकसमक्ष प्रस्तुत गरेको बताए ।

कार्यक्रममा ट्रष्टका सदस्य एवं सांसद किरण यादव, पूर्वमन्त्री एवं ट्रष्टका सदस्य बलदेव शर्मा मजगैयाँ, उपाध्यक्ष एवं बिपीका माइला सुपुत्र श्रीहर्ष कोइराला र साहित्यकार सन्ध्या पहाडीलगायतले बिपीले नेपालको राजनीति तथा साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानका विविध पक्षमाथि प्रकाश पारे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस