भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित


२९ असार २०७४, बिहिबार


पेट्रोलियम पदार्थ

भक्तपुर । मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो ।

आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने खुट्टा जलेको थियो भने सोही स्थानमा खुद्रा पसल गरी बस्ने प्रतिमा तामाङको अनुहार, ढाड, घाँटी पछाडिको भाग र दुवै खुट्टा जलेर घाइते भएकी थिइन् । ८ महिनाको गर्भवतीसमेत रहेकी तामाङको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, मध्यपुर थिमि–३ चारदोबाटोस्थित साझा पेट्रोल पम्पको दुईतल्ले पक्की घरको भूमिगत कोठामा २०७२ माघ ५ गते आगलागी हुँदा सँगै रहेको गौरीशंकर ट्रेडर्स हार्डवेयरको करिब १० लाख बराबरको धनमाल जलेर क्षति भएको थियो । सो भवनमा रहेको टायर रिसोलिङ पसलको हावा भर्ने पाइप फुटेर अचानक आगलागी हुँदा तीनजना घाइते भएका थिए । भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भएको सो आगलागीका बेला साझामा पेट्रोल वितरण भइरहेको थियो । पम्प परिसरमा रहेको पसलमा आगलागी भएपनि समयमा नियन्त्रण भएकाले ठूलो क्षति हुनबाट जोगिएको थियो ।

भक्तपुरमा रहेका पेट्रोल पम्पहरुमा पटकपटक आगलागीका घटना हुँदा पनि पेट्रोल पम्पलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धुमपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले भक्तपुरका पेट्रोल पम्पहरु जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् । पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थको कारोबार स्थल असुरक्षित र मापदण्ड विपरीत सञ्चालन भइरहँदा पनि त्यसलाई व्यवस्थित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

भक्तपुरमा सञ्चालित अधिकांश पेट्रोल पम्प मानव बस्तीको बीचमा रहेका छन् । थिमिको जगुलु पम्प चाणक्य कलेज र विद्यालयसँग जोडिएको छ । पम्पमा हुने सानो दुर्घटनाले पनि मानवीयलगायत ठूलो क्षति हुनसक्ने खतरा रहेको छ ।

भक्तपुरमा सञ्चालित १८ वटा पेट्रोल पम्पमध्ये अधिकांश पेट्रोल पम्पमा सुरक्षाको बन्दोबस्त छैन । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको गुह्येश्वरी फ्यूल स्टेसन, भक्तपुर फ्युल सेन्टर, न्यू महेश्वरी फ्युल स्टेसनलगायत केही पम्पमा मात्र सुरक्षाका लागि पर्खाल र गेटको व्यवस्था गरेको छ । थिमिको साझाले २०७२ साल माघको आगलागीपछि पम्प क्षेत्रभित्र जो कोही जान नसक्ने गरी बार लगाएको छ भने लोकन्थलीस्थित सिद्धार्थमा हाल बार लगाउने कार्य भइरहेको छ ।

पेट्रोल पम्प सञ्चालनसम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा एक पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५०० मिटर हुनुपर्ने उल्लेख छ । तर भक्तपुरमा कतिपय पम्पको दुरी २०० मिटरको हाराहारीमा रहेका छन् । लोकन्थलीदेखि साँगा चोकसम्मको करिब १० किलोमिटर बाटोमा मात्र १५ वटा पम्प सञ्चालनमा छन् ।

निर्देशिकामा १० किलोका तीनवटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम एक हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिन लगायतका सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । तर भक्तपुरका अधिकांश पम्पले त्यस्ता सामानको व्यवस्था गरेको पाइँदैन ।

बाग्मती अञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले पेट्रोल पम्प व्यवस्थित नभएको स्वीकार गर्दै नयाँ मापदण्डअनुसार पम्प सञ्चालन गर्न नसकिने बताए । नयाँ मापदण्डअनुसार पेट्रोल पम्प सञ्चालन गर्न पाँच रोपनी जग्गा, पानी ट्याङ्की, दुई शौचालय, एकवटा हात धुने बेसिन, २० देखि २२ फिटको जस्ताको छत बनाउनुपर्ने व्यवस्था गरेको जानकारी दिँदै खड्काले भक्तपुरमा सो सम्भव नभएको बताए ।

उनले नयाँ खोल्ने पम्पलाई भने नयाँ मापदण्डअनुसार मात्र खोल्न दिने तयारी भइरहेको बताए । पम्प सञ्चालनमा लापरबाही गरेकै कारण सङ्घले नै हाल दुईवटा पम्प सञ्चालनमा रोक लगाएको पनि उनले जानकारी दिए ।

वाणिज्य विभाग, नापतौल विभाग र आयल निगमले बेला बेलामा पम्पको अनुगमन गरे पनि नापतौल पुगे÷नपुगेको र पेट्रोलियम पदार्थको गुणस्तरका बारेमा मात्र अनुगमन गर्ने गरेकाले पनि पम्प सञ्चालनमा सुरक्षाको बारेमा सञ्चालकहरुकै चासो कम भएको एक पम्प सञ्चालक नाम नबताउने सर्तमा बताउछन् । उनले सम्बन्धित निकायले बेला बेलामा पम्पको सुरक्षा व्यवस्थाका बारेमा पनि अनुगमन गर्नुपर्ने बताए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत असार १४ गते आयल निगमलाई एक पत्र पठाई मध्यपुर थिमि–१, लोकन्थलीस्थित सिद्धार्थ पेट्रोल पम्पमा प्राविधिक निरीक्षण गर्न अनुरोध गरेको छ ।

गत असार १३ गते सो पम्पमा आगलागी भएर केही व्यक्तिसमेत घाइते भएपछि तत्काल पम्प सञ्चालनमा रोक लगाई निगमको प्राविधिक निरीक्षणको प्रतिवेदन आइसकेपछि मात्र सञ्चालन गर्न दिने सो पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस