वरिष्ठ लोकगायक सापकोटा सम्मानित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वरिष्ठ लोकगायक सापकोटा सम्मानित


१८ असार २०७४, आइतबार


काभ्रे । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् ।

जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सापकोटाले सो सम्मान आफ्नो लागि सबैभन्दा विशिष्ट र अविष्मरणीय रहने बताउँदै भने, “मेरो लोकगायनप्रतिको निरन्तरताले नै मलाई यो सम्मान मिलेको हो ।” उनले युवा पुस्तालाई पनि आफ्नो काममा निरन्तरता दिन आग्रह गरे ।

डा. लम्सालले साहित्य सधैँ समाजलाई नयाँ दिशामा लैजाने खालको हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालकै पहिलो साहित्यिक धावक मानिने लक्ष्मण सापकोटाले यही असार २८ गते भानु जयन्तीका अवसरमा आफूले भानुभक्तकै पहिरनमा भानु साहित्यिक दौड दौडने जानकारी गराए ।
कार्यक्रममा छवि श्रेष्ठ, निराजन तरङ्ग, अनिश घिमिरे, चण्डिका वाग्ले, ज्ञानु रोका, इन्द्र गौतमलगायतले कविता वाचन गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस