महालेखा परीक्षकको कार्यालय कडा हुनुपर्नेः राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महालेखा परीक्षकको कार्यालय कडा हुनुपर्नेः राष्ट्रपति भण्डारी


१५ असार २०७४, बिहिबार


काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताएका छन् ।

महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताइन् ।

“प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय अनुशासन कायम गर्न बेरुजु छिटो फछ्र्योट हुनुपर्छ, आर्थिक अनियमितता र भ्रष्टाचारबाट मुक्त नभई देश समृद्ध हुँदैन, यसैले आर्थिक अनुशासन कायम गराउन कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ”– उनले भनिन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करिब चार खर्ब बेरुजु फछ्र्योट गर्न तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाए । “नयाँ सङ्घीय संरचनाअनुसार आगामी आवदेखि स्थानीय तहमा धेरै बजेट जाँदैछ, यो बजेटमा आर्थिक अनुशासन कायम गर्न कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ”– उनले भने ।

महालेखा परीक्षक टङ्कमणि शर्माले कार्यालयको ५४औँ वार्षिक प्रतिवेदनमा रु तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु देखिएको जानकारी दिए । “५४औँ प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५औँ प्रतिवेदनका लागि पाँच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ”– उनले भने ।

वर्षौंदेखिको बेरुजु फछ्र्योट गर्नु चुनौती बनेको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्षदेखि सामाजिक लेखापरीक्षण र सामूहिक लेखापरीक्षणको अवधारणा पनि ल्याउने भएको छ ।

सो अवसरमा पूर्व महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । यसैगरी ‘नेपालको सङ्घीय शासन प्रणालीमा महालेखा परीक्षक कार्यालयको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्रमशः वैभवदेव श्रेष्ठ, एस पोखरेल ‘शिव’ र लेखबहादुर थापालाई रु १५ हजार, १० हजार र पाँच हजार तथा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा यस वर्ष कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने निर्देशक शिवराम गुरुङ, लेखा परीक्षकहरु सविना चित्रकार, कुमार चित्रकार, शिवहरि पोखरेल र मधुसूदन महत तथा सवारी चालक सूर्यबहादुर तामाङलाई रु पाँच हजार नगदसहित सम्मान गरिएको थियो ।

वि.सं. २०१६ असार १५ गते चन्द्रबहादुर थापालाई पहिलो महालेखा परीक्षक नियुक्त गरिएको सम्झनामा यस दिन कार्यालयको वार्षिकोत्सव मनाउने गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस