रुपन्देही र रोल्पा जिल्लामा मतगणना सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुपन्देही र रोल्पा जिल्लामा मतगणना सुरु


१५ असार २०७४, बिहिबार


बुटवल । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् ।

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा बिहिबार बिहानदेखि मात्र गणना सुरु भएको उनले जानकारी दिए ।

रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधबार १५ वटा तहमा निर्वाचन भएको थियो । जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधबार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान भोलि शुक्रबार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

रोल्पामा मतगणना सुरु

यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ ।

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने एक स्थानमा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । नेकाले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा माओवादी केन्द्र माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस