स्मार्ट सिटी घोषित गाउँपालिकामा चार पक्षीय प्रतिस्पर्धा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्मार्ट सिटी घोषित गाउँपालिकामा चार पक्षीय प्रतिस्पर्धा


९ असार २०७४, शुक्रबार


झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन चार दिनमात्र बाँकी छ । राजनीतिक दलहरु मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा जुटिरहेका छन् ।

चुनावी अभियानकै क्रममा झापा गौरीगञ्ज गाउँपालिकाका उम्मेदवार विकास निर्माणका एजेन्डासहित चुनाव अभियानमा जुटेका छन् । गौरीगञ्जमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच नै चौतर्फी प्रतिस्पर्धा हुने देखिन्छ ।

हुलाकी राजमार्गअन्तर्गत सरकारले घोषणा गरेको १० वटा नयाँ स्मार्ट सिटीभित्र परेको यो गाउँपालिका बर्सेनि कनकाई, कमल, कृष्णे, बनियानीलगायत नदीको कटान र बाढीको चपेटामा पर्ने गरेको छ । गौरीगञ्जमा सबैतिर विद्युत् पुग्न सकेको छैन । अधिकांश कच्ची र ग्राभेल सडक रहेको यहाँको बजार क्षेत्रका नागरिकमा मात्र खानेपानीको पहुँच छ । दुर्गम ठाउँलाई सुन्दर र समृद्ध सहर बनाउने एजेन्डासहित यहाँका उम्मेदवार चुनावी अभियानमा व्यस्त छन् ।

काँग्रेसको तर्फबाट जिल्लामै एकमात्र अध्यक्ष पदका महिला उम्मेदवार फुलवती राजवंशीले यस क्षेत्रका नागरिकमा चेतनाको स्तर बढेसँगै विकासको मूल प्रवाहमा समेटेर लैजाने योजना रहेको बताइन् ।

“महिला सशक्तीकरण नै मेरो मूल लक्ष्य हो,” उनले भनिन्– “सामान्य उपचारसमेत नपाएर महिला दिदीबहिनी मर्नुपर्ने अवस्था छ, उहाँहरु शोषण र उत्पीडनमा पर्नुभएको छ, त्यसको अन्त्यकै लागि पनि म उम्मेदवार बनेकी हुँ ।”

घरदैलो अभियानमा व्यस्त रहुेकी उनले भनिन्– “मतदाताको मन बुझ्दै छु । उनीहरुको भावनाअनुरुप काम गर्नेछु ।”

पहिलो एजेन्डा विकास नै रहेको भन्दै राप्रपाका तर्फबाट उम्मेदवार बन्नुभएका बाबुराजा श्रेष्ठले दुई वर्षभित्र गौरीगञ्जका सबै ठाउँमा सडक निर्माण र घरघर बिजुली पुर्याउने लक्ष्य रहेको बताए ।

“यहाँ पिछडिएका जातजातिको बसोबास छ,” उनले भने– “उनीहरुको लागि एकीकृत बस्ती विकासका लागि काम गर्नेछु ।” गरिबीको रेखामुनि रहेका नागरिकमा स्वास्थ्य र शिक्षाको पहुँच वृद्धि गर्ने उनको सोच छ । गौरीगञ्ज–२ कोरोबारामा रहेको सिमसार क्षेत्रको विकास गरी आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उनले योजना बनाएका छन् ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्षका प्रत्यासी विद्यानन्द राजवंशीले विकासका लागि यातायात मुख्य सर्त रहेको र गौरीगञ्जमा चक्रपथ निर्माण गर्ने योजना रहेको बताए । हुलाकी गौरीगञ्जलाई स्मार्ट सिटी बनाउने सरकारको घोषणालाई मूर्त रुप दिन पहल गर्ने उनको भनाइ छ ।

बर्सेनि बाढीको मार खेप्दै आएका गौरीगञ्जवासीलाई त्यसबाट मुक्ति दिलाउन नदी नियन्त्रणका उपाय अवलम्बन गर्ने उनले बताए ।
एमालेका उम्मेदवार श्याम ढकालले आधारभूत सेवा सुविधाबाट विमुख यहाँका नागरिकलाई समृद्ध सहरवासी बनाउने योजना रहेको बताए । “म गौरीगञ्जको विकासमा प्रतिबद्ध छु,” उनले भने– “दुर्गमवासीलाई सुगमवासी बनाएरै छाड्छु ।”

साविक गौरीगञ्ज, खुरगाछी, महाभारा र कोरोबारी गाविस गाभिएर गौरीगञ्ज गाउँपालिका बनेको हो । यहाँको जनसङ्ख्या ३३ हजार ३८ रहेको छ ।

गौरीगञ्जमा १० हजार १९९ पुरुष र १० हजार २०२ महिला गरी कुल २० हजार ४०१ मतदाता र २९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय, झापाले जनाएको छ । छवटा वडा रहेको गौरीगञ्जमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित ३२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

यहाँ गाउँपालिका अध्यक्षका लागि चार र उपाध्यक्षका लागि छजनाले उम्मेदवारी दर्ता गराएका छन् जसमध्ये दुई उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार हुन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस