महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने– राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने– राष्ट्रपति भण्डारी


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएकी छिन् ।

महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा उहाँले मुलुकको विभिन्न ठाउँमा अझ पनि छाउपडी दाइँजो लगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको आवश्यकता रहेको विचार व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले राज्यको सबै अङ्ग परिचालित हुँदै गएमा देशमा शान्ति, न्यायपूर्ण र आर्थिक रुपमा समुन्त हुनु टाढाको विषय नरहेको उल्लेख गरिन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचनपछि स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमालेका नेता वामदेव गौतमले महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने विचार व्यक्त गरे । उनले करिब २५ वर्षसम्म नेत्री सहानाको नजिक रहेर काम गरेको भन्दै कठिन समयमा पनि काम गर्नसक्ने खुबी नेत्री प्रधानमा भएको चर्चा गरे ।

राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राज्यको विभिन्न तहमा महिला सहभागिताबारे कानुनमा उल्लेख भए पनि व्यवहारमा नभएको गुनासो व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने १० महिलालाई राष्ट्रपति भण्डारीले सम्मान गरिन् । सम्मानित हुनेमा समाजसेवी मिठाइदेवी विश्वकर्मा, विजया शर्मा, साबित्री अर्याल सिलवाल, उमादेवी दास, चन्द्रकला किरण तथा बमकुमारी बुढा छन् ।

त्यसैगरी राजनीतिककर्मी नानीमैया नकर्मी, कलाकार भुवन चन्द, कानुनविद् शीलु सिंह तथा साहित्यकार तोया गुरुङ पनि सम्मानित भए। कार्यक्रममा नेत्री सहाना प्रधानको जिवनीका बारेमा उल्लेख गरिएको सामूहिक आवाज विशेषाङ्क लोकार्पण भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस