तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा


१३ जेष्ठ २०७४, शनिबार


रुपन्देही । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ ।

रुपन्देहीमा संविधानसभाको चुनावमा समेत उम्मेदवार बनेका आनिक राना र सन्तु पुनले ठूला दलले आफूहरुलाई ठाउँ नदिएकाले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी भएको बताए । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य यज्ञ पोखरेलले तीनै जनालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

तिलोत्तमा–८मा वडा सदस्यका उम्मेदवार रानाले स्थानीय निकायमा तेस्रोलिङ्गीको अधिकार कागजमा लेखिए पनि व्यावहारिक व्यवस्था गर्नका लागि आफूहरुले उम्मेदवारी दिने बताए ।

यसअघि नेपाल जनमुक्ति पार्टीमा आबद्ध रानाले संविधानसभाको चुनावमा रुपन्देही –३ बाट प्रतिप्रस्पर्धा गरेका थिए । यस्तै स्वतन्त्र रुपमा रुपन्देही–४ मा पुनले पनि संविधानसभाको सदस्यमा चुनाव लडेका थिए । हाल रुपन्देहीमा तेस्रोलिङ्गी र समलिङ्गीको सङ्ख्या करिब छ हजार रहेको समाजको जिकिर छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस