३४ जिल्लामा स्थानीय निर्वाचनको मतदान सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३४ जिल्लामा स्थानीय निर्वाचनको मतदान सुरु


३१ बैशाख २०७४, आइतबार


काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान ७ बजेदेखि सुरु भएको छ ।

लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि आम मतदाताले आफूले मन पराएका आफ्ना घर आँगनमा उम्मेदवारलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याउन मतदान गर्दैछन् । वि.सं. २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । मतदाताहरु अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतीक्षारत देखिन्थे ।

प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

अधिकार सम्पन्न स्थानीय सरकार चयन गर्न मतदाता उत्साहपूर्वक मतदानका लागि लामबद्ध छन् । निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा वैधानिक रुपमा हस्तान्तरण हुनेछ ।

यस निर्वाचनअन्तर्गत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचन हुनेछन् ।

निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । निर्वाचन चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका छन् । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । प्रदेश नं. १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा अगामी जेठ ३१ गते हुँदैछ ।

गृहमन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धान प्रहरी गरी जम्मा ६४ हजार प्रहरी परिचालन गरिएको छ । यसबाहेक नेपाली सेनाले पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार सेना खटाएको छ भने काठमाडौँ, हेटौँडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस