भरतपुरमा छ सय ८४ उम्मेदवार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुरमा छ सय ८४ उम्मेदवार


२३ बैशाख २०७४, शनिबार


चितवन । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा छ सय ८४ जनाको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम समय शुक्रबार अपराह्न ५ बजेसम्ममा १५ जनाले उम्मेदवारी फिर्ता लिएको र एक जनाको बदर भएपछि सो सङ्ख्या कायम भएको मुख्य निार्वचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएपछि प्रमुख पदका उम्मेदवार दिनेश कोइराला र उपप्रमुखका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको छ । अन्य फिर्ता लिनेमा वडाध्यक्ष र सदस्य छन् ।

भरतपुरमा अन्तिम प्रतिस्पर्धाका लागि प्रमुखमा १४ र उपप्रमुखमा ११ जना कायम भएका छन् । महानगरका २९ वडाबाट प्रमुख र उपप्रमुखसहित एक सय ४७ जनप्रतिनिधि निर्वाचित हुने छन् । थप तीन जना मनोनीत भएपछि कुल जनप्रतिनिधिको सङ्ख्या एक सय ५० पुग्ने छ । महानगरपालिकामा एक लाख ५० हजार दुई सय ७४ मतदाता छन् । यहाँको ६५ मतदानस्थलमा एक सय ७९ मतदान केन्द्र राखिएको छ ।

महानगरपालिकामा दुई लाख ८० हजार जनसङ्ख्या छ जसमा एक लाख ३४ हजार पुरुष र एक लाख ४६ हजार महिला छन् । भरतपुर महानगरमा ८३ जनजातिको बसोबास छ ।

तत्कालीन भरतपुर नगरपालिकामा गीतानगर, मङ्गलपुर, पटिहानी, शिवनगर शुक्रनगर गाविस मिलाएर उपमहानगरपालिका तथा चित्रवन र नारायणी नगरपालिका तथा कविलास गाविस मिलेर महानगरपालिका बनाइएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस