कांग्रेसले भन्यो-माओवादीसँग गणतन्त्र, सङ्घीयतावादी र प्राकृतिक चुनावी तालमेल हो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसले भन्यो-माओवादीसँग गणतन्त्र, सङ्घीयतावादी र प्राकृतिक चुनावी तालमेल हो


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई महानगर, एक उपमहानगर र चार नगरपालिकामा चुनावी तालमेल गर्ने जानकारी दिएको हो ।

सो अवसरमा उपसमितिका संयोजक रमेश लेखकले पोखरा–लेखनाथ महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई सघाउने र भरतपुर महानगरपालिकामा काँग्रेसले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेणु दाहाललाई सघाउने सहमति भएको जानकारी दिए ।

उनले भने, “नेपाली काँग्रेस र नेकपा माओवादीबीच भएको चुनावी तालमेल गणतन्त्र, सङ्घीयतावादी र प्राकृतिक तालमेल हो ।”

यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा माओवादी केन्द्रले काँग्रेस प्रमुखका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्ने सहमति भएको संयोजक लेखकले बताए ।

यस्तै मकवानपुरको थाहा नगरपालिकामा काँग्रेसले (माओवादी केन्द्र)का उम्मेदवार लवशङ्कर विष्टलाई सघाउने, धादिङको नीलकण्ठ नगरपालिकामा (माओवादी केन्द्र)ले काँग्रेसका भीम ढुङ्गानालाई सघाउने, दोलखाको भीमेश्वर नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार ईश्वर मानन्धरलाई सघाउने तथा डोल्पाको ठूलीभेरी नगरपालिकामा (माओवादी केन्द्र)ले काँग्रेसका उम्मेदवार सुवर्ण बुढालाई सघाउने सहमति भएको जानकारी उनले दिए ।

संयोजक लेखकले बिहीबार भएको उम्मेदवारी फिर्तामा नेपाली काँग्रेसको तर्फबाट बागी उम्मेद्वार बनेका अधिकाशं उम्मेदवारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको भन्दै फिर्ता नलिएका उम्मेदवारलाई पार्टीले कडा कारबाही गर्ने स्पष्ट पारे ।

पहिलो चरणको निर्वाचनमा काँग्रेसले धेरै सङ्ख्यामा जनजातीलाई उम्मेदवार बनाएको छ, उनले भने, “२८३ स्थानीय तहमध्ये महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा १०९ र उपप्रमुखमा ९७ जना जनजाती, मधेसी र दलितको उम्मेदवारी परेको छ ।”

नगरपालिका प्रमुखमा दुई जना तथा गाउँपालिका प्रमुखमा चार गरी ६ महिलाको उम्मेदवारी परेको काँग्रेसले जनाएको छ ।

पहिलो चरणमा प्रदेश नं. ३,४ र ६ का चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा निर्वाचन हुँदैछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस