मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्– प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्– प्रमुख निर्वाचन आयुक्त


१८ बैशाख २०७४, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मङ्गलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् ।

आयोगद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार सबैको सहभागितामा हुने मनोनयन कार्यक्रमपश्चात् निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का र द्विविधा आफैँ हटेर जाने छन् ।”

प्रमुख आयुक्त डा. यादवले निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले निर्वाचनको प्रचारप्रसार गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिए ।

सात सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो ।

सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरेकाले सुरक्षा योजनाको वास्तविकरुपमा कार्यान्वयन गरी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन प्रमुख आयुक्त डा. यादवले सबै सुरक्षा निकायलाई पनि निर्देशन दिइसकिएको जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि भोलि बिहान १० देखि ५ बजेसम्मको समय तय गरिएको आयोगले जनाएको छ । संविधानसभाबाट बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने छ ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास आयोगले लिएको छ ।

स्थानीय तहको जग बसाउन आफ्ना मात्र नभई सक्षम, योग्य र दूरदर्शी उम्मेदवारलाई प्रोत्साहित गर्न सुझाव दिँदै प्रमुख आयुक्त भने– “स्थानीय तहको निर्वाचन भई अब बन्ने स्थानीय सरकार तपाईको घर छेउको सरकार हुने छ, भावी नेतृत्व सम्हाल्न सक्ने उम्मेदवार तल्लो तहबाटै विकसित हुने यो सुुवर्ण अवसर भएकाले पनि यसमा उत्साहपूर्वक सहभागी हुनुहोस् ।”

प्रचारप्रसारको क्रममा विशेष गरी महिला, दलित र अल्पसङ्ख्यकको मानमर्यादाप्रति अलिकति पनि आँच पुग्ने कार्य आयोगलाई सह्य नहुने बताउँदै उनले राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिताको पूर्ण पालना हुने छ भन्ने आयोगले विश्वास लिएको छ भने ।

निर्वाचनमा खटिनुभएका समस्त कर्मचारीले उच्च मनोबलका साथ तोकिएको जिम्मेवारीलाई कसैले प्रश्न उठाउन नसक्ने गरी पूरा गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले सञ्चारमाध्यमले दिने समाचार सामग्रीबाट पनि आममतदाताले नेपाली मिडिया स्वतन्त्र छन् भन्ने अनुभूति गर्न पाओस् भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस