काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको प्रकरणमा आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले आज गृहमन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।
१३ वर्षीया बालिका निर्मलाको बलात्कार पछि भएको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्ने माग गरिएिको थियो । बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको थियो। सो मुताविक दुवैले प्रहरी प्रधान कार्यालयमा बुझाएको हो । प्रहरी प्रधान कार्यालयले आजै स्पष्टीकरण गृह मन्त्रालयमा पठाइएको प्रवक्ता सुवेदीले बताए ।
प्रहरी प्रधानकार्यालयलाई स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न गृहले आदेश दिएको थियो । पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आज जवाफ पेस गरेका हुन्।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
घटनाको छानबिन गरे पनि परिणाम नआएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्र्ने प्रक्रिया अघि बढाउन लागेको हो ।







