काठमाडौं । नापी कार्यालय बुढानिलकण्ठ काठमाडौंका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न वहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरलाई अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खदिएको टोलीले सेवाग्राहीबाट लिएको २५ हजार घुस रकमसहित बुढानिलकण्ठ नगरपालिका– ७, हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट पक्राउ गरेको हो । कुवँरलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।