महोत्तरीका किसानले पाएनन् उखुको भुक्तानी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महोत्तरीका किसानले पाएनन् उखुको भुक्तानी


३१ श्रावण २०७५, बिहिबार


बर्दिवास । महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् ।

गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै भुक्तानी दिन सहमति गराएका थिए । किसानले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् ।

सो मिलले किसानलाई गत वर्षको झण्डै रु एक अर्ब भुक्तानी गर्न बाँकी छ । मिलले किसानसँग उखु खरीदबापतको रु एक अर्ब चार करोड मात्र भुक्तानी गरेको छ । भुक्तानी गर्न मिलले आनाकानी गर्दै आएको छ । भुक्तानी पाउने निश्चित नभएको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । “किसान ऋणमा डुबेका छन्,” उनले भने।

उद्योगले गत वर्ष महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, सप्तरी, बारा र पर्साका किसानले उत्पादन गरेको ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेको थियो । वि.सं. २०५३ मा स्थापना भएको उक्त मिलले आफ्नै ढङ्गले मूल्य निर्धारण र भुक्तानी गर्दैआएको छ । गत वर्ष मिलले प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरीद गरेको थियो ।

उत्पादन गरेको चिनी बिक्री नभएका कारण उखुको भुक्तानी गर्न नसकेको मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताए। “हाम्रो उत्पादनले बजार पाउन सकेको छैन, भारतीय चिनीका कारण समस्यामा छौँ,” उनले भने, “हाम्रो उत्पादन भण्डारगृहमा थन्किएको छ ।” प्रदेश नं. २ को प्रमुख नगदेबाली मानिएको उखुखेतीमा करीब ९० हजार किसान संलग्न छन् । सरकारले प्रतिक्विन्टल उखुको ५३६ रुपैयाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस