थापागाउँमा वितरण गरिएको खानेपानी थिग्रिँदा तेलजस्तो तह र कालो लेदो देखियो। ढल निर्माणका क्रममा पाइपमा क्षति पुगेको केयूकेएलको स्वीकारोक्तिपछि प्रश्न उठेको छ-उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा यस्तो लापरवाही किन ?
काठमाडौँ । नयाँ बानेश्वरस्थित थापागाउँ (फुल्चोकीमाई मार्ग) क्षेत्रमा शुक्रबार बिहान वितरण गरिएको खानेपानीमा कालो लेदो र तेलजस्तो तह देखिएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका छन्। पानी केही समय थिग्र्याएर राख्दा माथिल्लो भागमा तेलजस्तो तह तैरिएको र पिँधमा कालो लेदो जमेको देखिएको उपभोक्ताहरूले बताएका छन्।
स्थानीयका अनुसार उक्त क्षेत्रमा प्राय: दुई दिनको अन्तरालमा खानेपानी वितरण हुने गरेको छ। पछिल्लो आपूर्तिपछि धाराबाट आएको पानीको गुणस्तरमा असामान्य अवस्था देखिएपछि उपभोक्ताले स्वास्थ्य सुरक्षासम्बन्धी चासो व्यक्त गरेका छन्।
घटनाबारे काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) वानेश्वर शाखाले थापागाउँ क्षेत्रमा वडा कार्यालयले ढल निर्माण गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुगेकाले पाइपभित्र बाह्य पदार्थ प्रवेश गरेको हुन सक्ने जनाएको छ।
वानेश्वर शाखा प्रमुख बिना खनालका अनुसार ढल निर्माणका क्रममा खानेपानीको पाइप फुटेको थियो। “हाम्रोमा इन्टरमिडिएट सप्लाई हो, दुई दिन बिराएर पानी वितरण हुन्छ। पाइप खाली भएको बेला ढल बनाउने क्रममा प्रेसरका कारण बाहिरको पदार्थ पाइपभित्र तानिएको हुन सक्छ,” उनले भनिन्।
उनका अनुसार अहिले देखिएको लेदो त्यही क्रममा पाइपभित्र प्रवेश गरेको माटो तथा अन्य पदार्थका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। “इनिसियल्ली त्यहीँबाट भएको अलिकति कलेक्सन भएर भएको हुनुपर्छ। तर निरन्तर यस्तै समस्या देखियो भने परीक्षण र अनुसन्धान गर्छौं,” खनालले भनिन्।
केयूकेएलले तीन दिनअघि सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै थापागाउँ क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीको पाइपमा क्षति पुगेकाले डीएमए–३.१.१ अन्तर्गतका क्षेत्रमा अर्को सूचना नआएसम्म पानी वितरण प्रभावित हुने जनाएको थियो। सूचनामा पाइप मर्मतका क्रममा भएको असुविधाप्रति क्षमायाचनासमेत गरिएको थियो। तर उपभोक्तालाई पानी फोहोर आउन सक्नेबारे भने कुनै सूचना जारी गरेको थिएन, जसका कारण सधैँ जसो ट्यांकिंमा भरेका थिए, जसले गर्दा ट्यांकीसमेत फोहोर बनाएको उनीहरुको गुनासो छ ।
शाखा प्रमुख खनालले आरुबारीस्थित ट्यांकीबाट वितरण हुने खानेपानीको नियमित परीक्षण गरिने र त्यसको प्रयोगशाला प्रतिवेदनसमेत सार्वजनिक गरिने जानकारी दिइन्। “हामीले दैनिक रूपमा पानीको गुणस्तर परीक्षण गर्छौं। सामान्य अवस्थामा प्रणालीभित्रबाट कन्टामिनेसन हुँदैन। तर यस्ता निर्माणसम्बन्धी कामका क्रममा बाह्य प्रभाव पर्न सक्छ,” उनले भनिन्।
सार्वजनिक स्वास्थ्यका दृष्टिले सुरक्षित खानेपानी सुनिश्चित गर्नु सम्बन्धित निकायको दायित्व भएकाले वितरण प्रणालीमा क्षति पुगेपछि गुणस्तर परीक्षण, जोखिम मूल्याङ्कन र उपभोक्तालाई समयमै जानकारी गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।
केही दिनअघि मात्रै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो सरकारी निवासमा मेलम्चीको पानी सिधै धाराबाट पिउन मिल्ने व्यवस्था गर्न निर्देशन दिएका थिए। यता राजधानीकै एक आवासीय क्षेत्रमा लेदोयुक्त पानी वितरण भएको घटनाले खानेपानी वितरण प्रणालीको मर्मत, निगरानी र गुणस्तर व्यवस्थापनबारे थप प्रश्न उठाएको छ।







