काठमाडौँ । बंगुरको मासु खादा एउटै गाउँका १६ जना बिरामी परेका छन् ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४, हेगौलीमा बंगुरको मासु खाएपछि एउटै गाउँका १६ जना बिरामी परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १०५ घरधुरीका स्थानीयवासीले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज गरेका थिए। भोजमा सहभागीमध्ये ४४ वर्षीया रामकुमारी महतोसहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको हो।
बिरामी परेकाहरूलाई स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पुर्याई उपचार भइरहेको जनाइएको छ। घटनाबारे सम्बन्धित निकायले थप जानकारी संकलन गरिरहेको छ।







