काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संवादविहीन र एकपक्षीय कार्यशैली अपनाएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले अन्ततः राजनीतिक जटिलता निम्त्याउन सक्ने बताएका छन्।
बुधबार सर्लाहीमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसद् अधिवेशनको मिति तय भइसकेपछि स्थगित गरेर अध्यादेशमार्फत अघि बढ्नु संसद् र नागरिकप्रति अवमूल्यनको संकेत भएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री जनमतबाट निर्वाचित सरकारको नेतृत्वमा पुगेको जस्तै काँग्रेस पनि सोही निर्वाचनबाट आएको प्रमुख प्रतिपक्षी शक्ति भएको उल्लेख गर्दै विपक्षीसँग न्यूनतम संवादसमेत नगर्नु उचित नभएको बताए।
थापाका अनुसार प्रतिपक्ष दलहरू संसद्मा प्रतिनिधित्व गरिरहेका अवस्थामा सरकारका महत्त्वपूर्ण निर्णयमा छलफल र परामर्श हुनुपर्छ। यस्तो अभ्यासलाई बेवास्ता गर्दै अघि बढेमा राजनीतिक वातावरण असहज बन्न सक्ने उनको भनाइ थियो।
उनले विगतका सरकारहरूले गरेका कतिपय निर्णय र नियुक्ति प्रक्रियामा सुधार आवश्यक रहेको विषयमा काँग्रेस पनि सहमत रहेको स्पष्ट पारे। संवैधानिक परिषद्सम्बन्धी नियुक्ति प्रणालीलगायत विषयमा व्यापक पुनरावलोकन आवश्यक भए पनि त्यसका लागि सहकार्य र संवादको बाटो रोजिनुपर्ने उनले बताए।
सरकार गठन भएको प्रारम्भिक चरण भएकाले आफूहरूले संयमित रूपमा प्रतिक्रिया दिइरहेको र शासन सुधारका एजेन्डामा सहयोग गर्न तयार रहेको थापाले उल्लेख गरे।
यद्यपि सरकारका तर्फबाट प्रतिपक्षको अस्तित्व नै बेवास्ता गर्दै एक्लै अघि बढ्ने सोच राखिए त्यसले सरकारलाई नै अप्ठेरोमा पार्ने उनले चेतावनी दिए। साथै उनले वर्तमान विवादित विषयहरू सच्याएर सहमतिका आधारमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।







