काठमाडौँ । बागमती नदी किनारमा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ। सोही क्रममा बागमती नदी खण्डअन्तर्गत थापाथली क्षेत्रका बस्ती पूर्ण रूपमा खाली गराइएको छ भने मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि संरचना हटाउने कार्य अघि बढाइएको छ।
अतिक्रमित बस्ती हटाउने पूर्वतयारीस्वरूप बिहीबारदेखि माइकिङमार्फत सूचित गरिएको थियो। उक्त सूचनापछि शुक्रबारदेखि केही परिवारले स्वेच्छिक रूपमा घरटहरा खाली गर्न थालेका थिए। शनिबार बिहानसम्म पनि खाली गर्ने क्रम जारी रहेकाले बिहान ६ बजेदेखि तय गरिएको भत्काउने कार्यक्रम केही समयपछि सार्दै स्थानीयलाई आफैँ संरचना हटाउने थप अवसर प्रदान गरिएको थियो। त्यसपछि करिब बिहान ८ बजेदेखि संरचना हटाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
थापाथली क्षेत्रका संरचना हटाइसकेपछि सम्बन्धित निकायले मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि सोही अभियान अघि बढाएको जनाएको छ।
यस क्रममा विस्थापित भएका घरबारविहीन तथा भूमिहीन व्यक्तिहरूलाई दशरथ रंगशालामा ल्याई तथ्यांक संकलन कार्य भइरहेको छ। साँझ ५:५० बजेसम्म ६८ परिवारको विवरण संकलन भइसकेको छ। तीमध्ये ३४ परिवारलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा स्थानान्तरण गरिएको छ।
साथै, तथ्यांक संकलनकै क्रममा १८ जना प्रभावितलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।







