वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।
डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काउन थालेको हो ।
वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले शुक्रबार सार्वजनिक सूचना जारी गरेर सडक विस्तारबाट भूमिहीन बन्नेले ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउनको लागि आह्वान गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन प्रक्रिया सुरु गर्न लागिएको महानगरले जनाएको छ । महानगरमा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्किएका घर टहरामा व्यापार नगर्न प्रशासनको अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले केही घरधनीले भत्किएको जोखिमपूर्ण घर टहरामा केही व्यक्तिलाई व्यापार,व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने हुँदा त्यस्तो जोखिमपूर्ण संरचनामा व्यापार तथा व्यवसाय नगर्न अनुरोध गरे ।







